राजन कुमार बानिया

पोखरिया,पर्साको पोखरिया नगरपालिकामा सोमवार पालिकास्तरीय विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धी सरोकारवालाहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।प्रमुख अतिथि रहनु भएका पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटाले विपदको कुनै समय निश्चित नहुने र एक्कासी आउनसक्ने भएकाले सबै सरोकारवालहरुलाई आफू र आफ्नो जनसमुदायहरुलाई समय मै सचेत गराउन आग्रह गर्नुभयो । प्रशासकीय अधिकृत सापकोटाले पालिकास्तरमा विपद व्यवस्थापन समिति गठन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । विपद व्यवस्थापन तथा प्रतिकार्यमा आफ्नो पनि सहयोग रहने उहाँले आश्वासन दिनुभयो ।स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्रले भुकम्प, कोनार्डाे, कोभिड, आगलागी, बाढीपहिरो लगायतका विभिन्न किसिमका विपद कुनै पनि समय पनि आउने सक्नेतर्फ ध्यानकर्षण गराउनुभयो । सो समयमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायतले समयमा सहयोग उपलब्ध गराउनुपर्नेमा उहाँको जोड छ ।पालिकास्तरीय विपद व्यवस्थापन तथा प्रतिकार्य समितिलाई पुर्नजागरण गर्न र सक्रिय बनाउन अभिमुखिकरण कार्यक्रम राखिएको बताइएको छ । नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक शिवकुमार पटेलले विपदको समयमा हुने क्षति र विपदबाट बच्ने उपायका सम्बन्धमा प्रस्तुतीकरणमार्फत जानकारी गराउनुभएको थियो ।विपदको समयमा तत्काल राहत उपलब्ध नहुँदा मृत्यु समेत हुन सक्नेतर्फ पटेलले सरोकारवालाहरुको ध्यान केन्द्रित गराउनुभयो ।‘समयमा उद्दार गरेर स्वास्थ्य संस्थामा उपचार गर्न सकियो भने जीवन बचाउन सकिन्छ, उहाँले भन्नुभयो, ‘विपदको समयमा तत्काल उद्दार र पिडितको पहिचान गरेर आवश्यक उपचारका लागि तीन किसिमका चिन्ह अंकित गरेर स्वास्थ्य संस्थामा लग्नुपर्छ ।’ पीडितका अवस्था गम्भीर छ भने रातो चिन्ह अंकित गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

 

पालिकास्तरीय विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धी सरोकारवालाको १ दिने कार्यक्रम स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा अधिकृत अजय श्रीवास्तव, नेपाल रेडक्रस सोसाइटी पोखरिया शाखा सभापती भगवान कुर्मी, युवा समाज पोखरियाका अध्यक्ष भगवान दास तत्वा, विपद व्यवस्थापन शाखा प्रमुख राजेश्वर कुर्मी लगायतले मन्तव्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here