बारा,बोक्सीको आरोपमा बाराको पचरौता नगरपालिका २ श्रीनगर बैरियामा एकजना महिलामाथि निर्धात रुपमा कुटपिट गरी कपाल मुण्डनसमेत गरिएको छ ।स्थानीय भोला मिया अन्सारी, ओजिर मिया अन्सारी र भोलकी श्रीमतीले छिमेककी ५६ वर्षिय हिरवा देबी लोहारिनलाई बोक्सी आरोपमा आइतवार राति घरमै पुगेर कुटपिटसहित दुव्र्यवहार गरेका हुन ।‘राति घरमा एक्लै थिएँ, पीडित लोहारिनले भन्नुभयो, बोक्सी भन्दै एक्कासी भित्र पसेर कुटपिट गरे ।’ कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट बोहोरेकी लोहारिनको हाल कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।सोही साँझ घर नजिकैको धानखेतमा जादै गरेको अवस्थामा भोला र ओजिरले गाली गलौज गर्दै उहाँलाई कुटपिट गर्ने प्रयास गरेका थिए । ‘खेतमा पनि बोक्सी भन्दै आक्रमण गर्न खोजेका थिए, उहाँले भन्नुभयो, तर भागेर ज्यान जोगाए, पछि घरमै आएर कुटे ।’ उहाँले यसअघि पनि उनीहरुले बोक्सी आरोपमा आफूलाई पटकपटक सार्वजनिक स्थलमा गालीबेइज्जत गर्दै आएको बताउनुभयो ।बोक्सी आरोपमा महिलामाथि कुटपिट हुदै गरेको खबर पाएपछि गाउँकै प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजिव सिंहको टोली पुगेर भोलालाई नियन्त्रणमा लिएको वडा अध्यक्ष मनोज यादवले बताउनुभयो । अर्का आरोपी ओजिर र भोलाकी श्रीमती भने फरार बनेका छन ।२ वर्षअघि पती रामाज्ञा ठाकुरको निधनपछि लोहारिन छोरा मिथिलेश शर्मासंगै घरमा बस्दै आउनुभएको थियो । २० वर्षिय छोरा मिथिलेश पनि घटनाको समयमा घर बाहिर रहेका थिए ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेको र घटनाको बारेमा थप अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयको टोली सोमवार घटनास्थल पठाइएको जानकारी दिनुभयो ।

Leave a Reply