सर्लाही,मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरी खोलाको पहिरोमा परी ज्यान गुमाएकाफुटबल खेलाडी आदित्य बलम्पाकीको शव बोकेर काठमाडौंबाट सर्लाहीको लालबन्दीको लागि उडेको हेलिकप्टर प्रतिकूल मौसमका कारण अवतरण हुननसकेपछि फर्किएको छ ।

काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शव बोकेर उडेको हेलिकप्टर मंगलवार अपरान्ह ४ बजे आदित्यको गाउँ सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १७ रानिगन्जका लागि उडेको थियो । तर मौसम खराबीका कारण हेलिकप्टर आदित्यको गाउँसम्म आउन नसकेपछि उतै फर्किएको हो ।मौसम खराब हुँदा उदयपुरमा गएर अवतरण भएको आदित्यको शव बोकेको हेलिकप्टर अहिले भने रामेछापमा लगेर राखिएको बुझिएको छ । आदित्यको शव हेलिकप्टरमै रहेको छ । बुधवार बिहान मौसम उध्रिए पुनः सोही हेलिकप्टरबाट शव ल्याउने प्रयास गरिने बताइएको छ ।

गएको शनिवार बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रशिक्षण केन्द्रमा पहिरो जाँदा निजगढका विकल रेग्मी र सर्लाही रानीगन्जका आदित्यसहित ६ जना युवा फुटबल खेलाडीको मृत्यु भएको थियो ।आवासीय विद्यालयलाई बाढीले डुबानमा पार्ने भएपछि सुरक्षित स्थानतर्फ जानेक्रममा विद्यालयका ३७ प्रशिक्षार्थीमध्ये ६ जना पहिरोमा पुरिएका थिए ।एन्फाको लापरबाहीले आदित्यको ज्यान गएको भन्दै उचित सम्मान र परिवारमा क्षतिपूर्तिको माग गर्दै आफन्तले आदित्यको शव बुझ्न मानेका थिएनन । सोही माग राखेर रानीगन्जका स्थानीयले सोमवार पूर्वपश्चिम राजमार्गमा दुई घण्टा चक्काजाम समेत गरेका थिए । आफन्तको असहमतिका कारण परिवारले शव बुझ्न नमानेपछि आदित्यको अन्त्यष्टि हुन पाएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here