निजगढ,निजगढ नगरपालिकाका प्रमुख सुरत पुरी र उपप्रमुख सोममाया थिङ्गलाई निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरमा बिहीवार सम्मान गरिएको छ । रतनपुरमा भइरहेको श्रीमद्भागवत महायज्ञका कथावाचक पण्डित गणेश उपपमन्यु ढकालले नगर प्रमुख पुरी र उपप्रमुख थिङ्गलाई रामनामी र सम्मान पत्रबाट सम्मान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै निजगढ नगरपालिका प्रमुख सुरत पुरीले सामाजिक र विकास निर्माणका कार्यमा नगरवासीलाई सहयोग गर्न निजगढ नगरपालिका सदैब तत्पर रहेको बताउनुभएको छ । नगरको सडक, खानेपानी, सिँचाईलगायत विकास निर्माणका कार्यमा जनतालाई सहयोग गर्नु नगरपालिकाको दायित्व भएको बताउदै त्यस्ता कार्यमा सहयोग गर्न आफू जहिले तयार रहेको पनि बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख पुरीले धर्मको सबैभन्दा ठुलो काम भनेको मानिसलाई सुख र शान्ति प्रदान गर्नु भएको बताउनुभएको छ । मानिसको मनमा रहेको बेचैनी र व्याकुलता समाजको सबैभन्दा ठूलो समस्याको रुपमा रहेको उहाँको भनाइ थियो । ‘धनी, गरिव, शिक्षित, अशिक्षित सबैको साझा समस्या बेचैनी हो, नगर प्रमुख पुरीले भन्नुभयो, आध्यात्मिक ज्ञान र धर्मबाट शान्ति र चैन प्राप्त गर्न सकिन्छ ।’
उहाँले आध्यात्मिक ज्ञानलाई राम्ररी बुझ्न नसक्दा मानिस दुखी भएको पनि बताउनुभयो । धर्मले जीवन र जगतलाई सही रुपमा बुझ्न मद्दत गर्ने बताउनुभयो ।
नगर प्रमुख पुरीले महायज्ञमा व्यक्तिगत रुपमा ११ हजार १ सय ११ रुपैया रुपमा सहयोग पनि गर्नुभएको छ ।
यसैबीच श्रीमदभागवत सप्ताहा ज्ञान महायज्ञमा बिहीवार दिउसोसम्म दान बापत ३ लाख रुपैया संकलन भएको छ । गाउँमा सामुदायिक भवन निर्माण र पितृउद्धार गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा स्थानीय दाताहरुले सो रकम दान गरेका हुन । आयोजकले १ हजार रुपैया भन्दा माथि रकम दान गर्ने दाताहरुको सम्मानको समेत व्यवस्था गरेको आयोजक समितिका सदस्य डिबि दहालले जानकारी दिनुभयो । उहाँका अनुसार २५ हजारभन्दा माथि रकम दान गर्नेलाई सभा नायकको मान दिएर दोसल्लासहित चाँदीको फ्रेममा प्रमाणपत्र वितरण गरिने छ । साउन २८ गते शनिवारबाट सुरु भएको सो महायज्ञको उद्धाटन निजगढ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सहइया गुरोले र उद्धाटन कार्यक्रमको संचालन डिबि दहालले गर्नुभएको थियो । महायज्ञमा पण्डित ढकालले कथा वाचन गरिरहनुभएको छ ।



















