वीरगञ्ज, सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने कार्यलाई वीरगञ्ज महानगरपालिकाले निरन्तरता दिएको छ । महानगरले आदर्शनगरस्थित राष्ट्रिय वाणिज्य बैंकको पर्खाल भत्काएको छ ।सार्वजनिक जग्गामा बैंकले निर्माण गरेको २३ फिट अग्लो पर्खाल हटाउन पटक–पटक आग्रह गर्दासमेत बेवास्ता गर्दै आएकाले पर्खाल भत्काइएको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिनुभयो । लामो समयदेखि बैंकले उक्त जग्गा खाली गर्ने प्रतिवद्धता व्यक्त गरे पनि पर्खाल नहटाएपछि नगरप्रमुख राजेशमाज सिंहको निर्देशनमा उक्त स्थानमा डोजर चलाइएको उहाँले बताउनुभयो ।पलिकाका विभिन्न वडामा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढेपछि महानगरले अतिक्रमण हटाउने अभियान सुरु गरेको छ । प्रमुख मियाँका अनुसार महानगर क्षेत्रभित्रका पोखरी, पार्क, मठ मन्दिरलगायत क्षेत्रका सार्वजनिक जग्गा अतिक्रमण गरी स्थानीयले ठूलाठूला भौतिक संरचना बनाउनुका साथै खेतबारीका रुपमा उपभोग गर्दै आएका छन् । “यसरी सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढ्ेसँगै महानगरपालिकाले वर्षौँदेखि अतिक्रमणमा परेका सार्वजनिक जग्गा खोज्ने अभियानलाई तीव्रता दिएको छ”, उहाँले भन्नुभयो ।अतिक्रमित जग्गा खोज्न, नापचाँज गर्न तथा सार्वजनिक र निजी छुट्याउन महानगरले विभिन्न वडामा प्राविधिक टोली परिचालन गरेको मियाँले जानकारी दिनुभयो ।“महानगरको धेरैजसो स्थानमा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी निजी सम्पत्तिको रुपमा प्रयोग गर्दै आएका छन्”, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भन्नुभयो, “पहिलो चरणमा प्राविधिक टोलीले वडा नं १७ र १९ मा खोज्ने र नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याउने काम गरिरहेका छन् ।” उहाँका अनुसार दुई सातादेखि सुरु गरिएको उक्त अभियानमा हालसम्म २६ बिघा भन्दा बढी अतिक्रमित सार्वजनिक जग्गा महानगरले नियन्त्रणमा लिएको छ ।“छोटो समयमा नै थुप्रै अतिक्रमित जग्गा फिर्ता गराउन हामी सफल भएका छौँ”, नगर प्रमुख सिंहले भन्नुभयो, “यस अभियानमा हामी शान्तिपूर्ण तरीकाले लागिरहेका छौँ र सबैले समन्वय पनि गरिरहनुभएको छ ।” सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी निजी प्रयोजनका लागि प्रयोग गर्दै आएको खोजी गर्न महानगरको टोली नक्सा लिएर सम्भावित स्थानमा जान थालेपछि स्थानीयले सहयोग गरिरहेका उहाँको भनाइ थियो ।टोलीले वडा नं १७ र १९ को सीमामा पर्ने कोनियाँ गाउँमा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी खेती गर्दै आएको पाँच बिघा जग्गा नियन्त्रणमा लिएको महानगर सचिवालयका हरि पोखरेलले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा दुई वटा वडाबाट अभियान सञ्चालन गरिएको भन्दै ‘अतिक्रमित जग्गा खोजी अभियान’ क्रमशः ३२ वटै वडामा सञ्चालन गरिने बताउनुभयो । “नियन्त्रणमा लिइएको अतिक्रमित सार्वजनिक जग्गा महानगरले नक्शाङ्कन गरिरहेको छ”, उहाँले भन्नुभयो ।“अतिक्रमित जग्गा खोज्ने अभियानका क्रममा केही दिनअघि महानगरपालिकाको आर्दशनगरस्थित चिल्ड्रेन पार्कको जग्गा स्थानीयले अतिक्रमण गरेको पाइएको थियो । उक्त स्थानमा निर्माण गरिएका केही संरचना महानगरले यसअघि नै भत्काएको छ भने बाँकी संरचना हटाउन सूचना दिइएको छ”, महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले भन्नुभयो । बाँकी संरचना सूचनाका आधारमा खाली नगरे डोजर चलाइने उहाँको भनाइ थियो ।अन्य स्थानमा पनि जग्गा अतिक्रमण गरिएको हुनसक्ने भएकाले खोजी गर्न प्राविधिकको समूह खटाएर परिचालन गरिएको बताउँदै अतिक्रमित जग्गा पाइएमा घेरा गरी संरक्षण गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो । अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन नापजाँच गरी डोजर लगाएर सीमा छुट्याउने काम भइरहेको उहाँले बताउनुभयो ।महानगरसँग अहिले आफ्नो क्षेत्रमा कहाँ र कति सार्वजनिक जग्गा छ भन्ने वास्तविक तथ्याङ्क नहुँदा खोजी कार्यमा कठिनाइ भइरहेको भन्दै यस अभियानलाई सफल बनाउन महानगरको टोली दैनिक स्थालगत खोजीमा खटिएको पौडेलले बताउनुभयो । “हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न खोजी अभियान अघि बढाइएको हो”, उहाँले भन्नुभयो । (रासस)


















