वीरगन्ज,वीरगन्ज रक्सौल सिमा नाकाबाट भारतीय निजी सवारी साधनको आवागमन शुक्रबारदेखि सुचारु भएको छ । वीरगन्जको मुख्य प्रवेशद्वार शंकराचार्य गेटमा औपचारिक कार्यक्रमबीच सिमा नाकाबाट भारतीय निजी सवारी साधनको आवागमन सुचारु भएको हो ।

 

भारतबाट प्रवेश गर्ने पहिलो सवारीका चालकसहित सवारीका यात्रुहरुलाई फूलमाला लगाएर स्वागत गरिएको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरी पन्तले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले पैदल यात्रुहरुको आवागमन यसअघि पनि जारी रहेकोमा अबबाट निजी सवारीको पनि आवागमन हुनुले दुई देशबीचको सम्बन्धमा थप आत्मियता बढने धारणा राख्नुभयो । छिमेकी राष्ट्र भारत र नेपालबीचको रोटी बेटीको सम्बन्धका कारण पनि निजी सवारीको आवागमन सुचारु हुनु पर्ने माग आज पूरा भएको सरावगीको भनाइ छ ।

 

लामो समयसम्म सिमा नाका खुल्ला हुादा वीरगन्ज र रक्सौलसहितका बासिन्दालाई आवतजावतमा असहजता भएको र अब उक्त समस्या हटेको सरावगीले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘नेपाल र भारतबीचको विशेष सम्बन्धका कारण पनि आगामी दिनमा नाका बन्द गर्नुभन्दा पहिला संघीय सरकारले जनस्तरको सम्बन्धमा आँच आउन नदिने गरी विकल्प खोज्नु पर्छ ।’

निजी सवारीको आवागमन सुचारु गराउन होटल तथा पर्यटन व्यवसायी संघ पर्साले गरेको पहलको पनि मेयर सरावगीले प्रशंसा गर्नुभयो । नाका खुलेसंगै भारतीय पर्यटकहरु भित्रिने र थला परेको होटल एवम् पर्यटन व्यवसायले विस्तारै गति लिने संघका अध्यक्ष पन्त बताउँनुहुन्छ ।

अध्यक्ष पन्तका अनुसार सिमाना भएर आउने यात्रुहरुको लागि एन्टिजेन परीक्षण गरेर नेपाल आउने व्यवस्था गरिएको छ । कार्यक्रममा होटल व्यवसायीहरु, वीरगन्ज र रक्सौलका सञ्चारकर्मीहरुलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here