कलैया,नेपाल राष्ट्रिय शिक्षक संगठन बाराको १४औं जिल्ला परिषद संगठनको कार्यालय कलैयामा सम्पन्न भएको छ ।
जिल्ला समिति अध्यक्ष सुरेन्द्र पासवानको अध्यक्षतामा भएको जिल्ला परिषदका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन मधेस प्रदेश समितिका उपाध्यक्ष हस्तबहादुर लामा रहनुभएको थियो ।

प्रमुख अतिथि लामाले कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठन शैक्षिक गुणस्तर, पेशागत हकहित तथा समग्र शैक्षिक उन्नयनका लागि लड्दै आईरहेको भएको बताउनुभयो । कतिपय पालिकाले शिक्षकहरूलाई अनावश्यक दुःख दिने, शिक्षकहरुको जायज मागको सुनुवाइ नगर्ने जस्ता कार्य गरिरहेको भन्दै प्रदेश उपाध्यक्ष लामाले यस्ता कार्यको संगठन सशक्त प्रतिवाद गर्ने पनि बताउनुभयो ।

यस्तै कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष बद्रीनारायण झाले संगठनमा आवद्ध शिक्षकले नेतृत्व गरेका विद्यालय अब्बल बन्दै गइरहेका औंल्याउनुभयो । शिक्षकलाई अनावश्यक दुःख दिने कार्यको सशक्त प्रतिवाद गरिने उहाँको पनि भनाई थियो ।
प्रदेश समिति, जिल्ला समिति तथा विभिन्न पालिकाका अध्यक्ष सहित सदस्यहरुको सहभागीता रहेको जिल्ला परिषदमा शिक्षकको पेशागत हक अधिकार, कतिपय पालिकामा शिक्षकमाथि हुने गरेका अन्याय तथा शैक्षिक गुणस्तर सुधार गर्दै संगठनमा आवद्ध शिक्षकहरुले सिर्जनात्मक तथा रचनात्मक कार्य गर्नुपर्ने विषयमा वक्ताहरुले जोड दिएका थिए ।
जिल्ला सचिवालय सदस्य रुपाश्री ढोढरीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव बिष्णु ढकालले गर्नुभएको थियो ।

Leave a Reply