मनोज शाह
जितपुर,नेपालमा पहिलो पटक उखुको बिरुवा प्रयोगशालाबाट उत्पादन गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरस्थित राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले टिसु कल्चर प्रविधिबाट उखुको नेपालमा नै पहिलो पटक बिउ उत्पादन गर्ने कार्य सुरु गरेको हो ।यो प्रविधिबाट एउटा बिरुवा ल्याएर एकैचोटी धेरै संख्यामा निरोगी र स्वस्थ बिरुवा उत्पादन गरि उखुको उत्पादन बढाउन सकिने अनुसन्धान कार्यक्रमका कृषि वैज्ञानिकहरुले दाबी गरेका छन । प्रयोगशालाले गत असोज १५ गतेदेखि ल्याबबाट बिउ उत्पादन गर्ने कार्यको सुरुवात गरेको थियो । प्रबिधिबाट तीन महिनामा बिरुवा उत्पादन गर्न सकिन्छ र वर्ष भरि नै गर्न सकिन्छ । उखुको एपिकल नारिष्टमलाई प्रयोगशालामा ल्याएर शुद्धीकरण गरी बिउ उत्पादन सम्बन्धि काम गरिने प्रयोगशालाका प्राविधिक सहायक. दिनेश चौधरीले जानकारी दिनुभएको छ ।केन्द्रका संयोजक डा दिलराज यादवको निर्देशनमा प्रविधिक सहायक चौधरी, बायो टेक प्राविधिक रबिन्द्रकुमार कर्ण र सहयोगी जितेन्द्र महतो लगायतको टोलीले प्रयोगशालामा अनुसन्धान सम्बन्धि काम गर्दै आएको बताइएको छ ।


















