बसन्त लामा
सिंगौल, १७ फागुन

स्थानीय राजनीतिक दलका कार्यकर्ताहरुको खिचातानीका कारण निजगढ नगरपालिका वडा नम्बर १ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालय १ वर्षदेखि प्रधानाध्यापक बिहीन अवस्थामा संचालन हुदै आएको छ । प्रधानाध्यापकको नहुँदा निम्न माध्यमिक तहका शिक्षक विरेन्द्र चौधरीले निमित्त प्रअको जिम्मेवारी लिएर काम गर्दै आउनुभएको छ ।

विद्यालयमा रिक्त प्रधानाध्यापकको पदपुर्ति नहुँदा पठनपाठनसंगै विद्यालयको प्रशासनसमेत प्रभावित बनेको छ ।
केहि समयअघि जिल्ला शिक्षा समन्वयन इकाई बाराको सिफारिसमा निजगढ नगरपालिकाको शिक्षा शाखाबाट खटाइएकी माध्यमिक तहकी शिक्षिका अम्बिका लुइटेललाई विद्यालय व्यवस्थापन समितिले हाजिर नगराएपछि विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्ने विषयमा अन्यौल बढेर गएको छ ।

शिक्षक सेवा आयोगको परीक्षा उर्तिण गरेर आउनुभएकी शिक्षिका लुइँटेललाई शिक्षा समन्वय इकाईको सिफारिसमा नगरपालिकाको शिक्षा शाखाले ६ महिना परिक्षणकाल रहने गरि विद्यालयमा हाजिर हुन पठाएको थियो ।

तर व्यवस्थापन समितिले शिक्षिका लुइटेललाई हाजिर गराउन नमाने पछि अन्यौलता बढेर गएको हो । विद्यालयमा गणित र विज्ञान विषय शिक्षक आवश्यक रहेको तर शिक्षिका लुइटेल अंग्रेजी विषयको शिक्षक भएको भन्दै समितिले उहाँलाई हाजिर गराउन इन्कार गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर योञ्जनले नगरपालिकाले पठाएको शिक्षक विद्यालयको आवश्यकता विपरित भएकोले हाजिर गराउन नसकिएको बताउनुभएको छ ।

जिल्ला शिक्षा समन्वयन इकाईको पत्र अनुसार ०७८/०७९ मा रिक्त दरबन्दीको सूचिमा सिंगौलको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय परेको छैन । तर विद्यालयका तत्कालिन प्रधानाध्यापक श्यामकुमार शर्माले अनिर्वाय अवकास लिएपछि रिक्त दरबन्दीमा शिक्षिका लुइटेलको पदस्थापना गरिएको हो । नेपाल राष्ट्रिय शिक्षक संघठन निकट मानिने लुइटेललाई सोही आधारमा सिंगौलमा ल्याइएको पनि बताइएको छ ।

विद्यालयमा यसअघि २०५४ सालअघिबाट शिक्षक पदपूर्ति गर्दा राजनीतिक दलहरुले आफू निकटको व्यक्तिलाई हेर्ने र आर्थिक लेनदेनको आधारमा नियुक्ति हुने गरेको पनि बताइएको छ ।

वर्षौदेखि राजनीतिक चल्दै आएको सेटिङ र अव्यवस्थाको अन्त्य गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योन्जनले प्रयास गरेको भएपनि पूर्णरुपमा सफल हुन नसकेको बताइएको छ ।

विद्यालयमा कायर राजनीतिक सेटिङको अन्त्य गरेर बालबालिका मैत्री शैक्षिक वातावरण निर्माण गर्न विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसहित अभिभावक, विद्यार्थी र स्थानीय जनप्रतिनिधि र समाजसेवीहरुले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ ।

Leave a Reply