निजगढ,स्थानीय तहको निर्वाचनमा नेताका आसेपासेहरुलाई उम्मेदवारको टिकट दिएकोभन्दै जिल्लाको कोल्हबी नगरमा काँग्रेसका कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएका छन् ।

राजिनामा गर्नेहरुमा नगर कमिटी सचिव रविन्द्र चौधरीसहित सदस्यहरु शोभालाल चौधरी, राजेश्वर थापा, योगेन्द्रराज अधिकारी, रामपुकार चौधरी र सोमबहादुर के.सी.लगायत छन् ।

काँग्रेसले टिकट वितरणमा जिम्मेवार कार्यकर्तासँंग सल्लाह सुझावनै नलिएर आफ्ना र आफन्त अनी आसेपासेलाई टिकट दिएको आरोप लगाउँदै उनीहरुले सामुहिक राजिनामा दिइएका हुन् ।

नेपाली काँग्रेस पार्टीमा लामो समयदेखि काम गरेका कार्यकर्ताहरुलाई पाखा लगाउँदै मनपरि ढंगबाट टिकट वितरण गरिएले सामुहिक राजिनामा दिनु परेको नगरकमिटि सचिव चौधरीले बताउनुभयो ।

‘व्यक्ति विशेषको प्रभावमा एकल निर्णय गराइ उम्मेदवार छनौट गरियो, उहाँले भन्नुभयो, टिकट वितरणको निर्णयप्रति हाम्रो असन्तुष्टी हो ।’ ‘उमेदवार सिफारिसको लागि बैठक बसेका थियौं, त्यही बेला फोनमा खानेमन्त्री उमाकान्त चौधरीले त्यस्तो सिफारिसको आवश्यक छैन, माथिबाटै निर्णय गरिन्छ, भन्दै हाम्रो अपमान गर्नुभयो ।’ उहाँले अगाडि भन्नुभयो, पार्टी विधि पद्दतिलाई मिच्ने काम माथिबाटै भएपछि त्यस्तो पार्टीमा बसिरहन आवश्यक नठानेर साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छौ ।’ टिकट वितरणमा खानेपानी मन्त्री चौधरीको बलमिच्याँइले गर्दा कार्यकर्ताद्वारा सामुहिक राजिनामा दिने तहमा आइपुगेका हौं, यो त कास्टीङ्ग मात्रै हो । निर्वाचनको मुखमा अझै ठूलो पहिरो जान्छ ।’

कोल्हबी नगरमा उम्मेदवारको टिकट बाँड्दा काँग्रेस सहमहामन्त्री समेत रहेका खानेपानी मन्त्री उमाकान्त चौधरीले मनोमानी गरेको स्थानीय काँग्रेस नेतृ राधा कुमारी चौधरीले समेत आरोप लगाउनुभएको छ । उहाँले समाजिक संजाल मार्फत वर्तमान खानेपानी तथा सरसफाइ मन्त्री चौधरीले टिकट वितरणमा आफ्ना आसेपासे, झोले, आफन्तलाई हेरेको आरोप लगाउनुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ, “नेपाली काँग्रेस पार्टीबाट कोल्हबी नगरपालिकामा राजनीतिक गर्नुछ भने पहिला उमाकान्त चौधरी खानेपानी मन्त्रीको आफन्त हुनुपर्छ । दोस्रो उहाँको झोले हुनुपर्छ । यस्तै आसेपासे नातावाद, कृपावाद मात्र हाबी रहेछ । यहाँ राम्रोको लागि हैन हाम्रोको लागिमात्रै नेपाली काँग्रेस पार्टी रहेको छ । यदि यस्तै व्यक्तिगत रबैया रहिरहन्छ, भने आउने दिनमा कोल्हबी नगरपालिकामा कांग्रेसलाई दियो बालेर खोज्दा पनि फेला पार्न सकिदैन ।”

Leave a Reply