कलैया,९ वर्षीय बालिकालाई करणी गरेर हत्या गरेको अभियोगमा बाराको आदर्शकोतवाल गाउँपालिका– ७ का सन्तोष साह कानुलाई बारा जिल्ला अदालतले आजीवन कैदको फैसला गरेको छ ।जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले जेठ ३० गते साहलाई आजीवन कैद हुने फैसला सुनाउनुभएको हो । आदर्शकोतवाल गाउँपालिका– ७ स्थित कुखुरा फर्म छेउको खाली चौरमा बाख्रा चराइरहेकी सोही गाउँकी ९ वर्षीया बालिकालाई ललाइफकाइ कुखुरा फर्ममा बोलाएर कानुले ०७८ पुस २५ गते करणीपछि हत्या गरेका थिए ।हत्यालगत्तै साहले बालिकाको शव गाउँ नजिकैको जमुनी खोलामा फालेका थिए ।
साहलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को (१) अनुसार ज्यान सम्बन्धी कसुर र दफा २१९ को करणी सम्बन्धी व्यवस्थाको (३) अनुसार आजीवन जन्मकैद सजाय भएको हो ।बारा जिल्ला अदालतले यी दुबै कानुनलाई टेकेर साहलाई आजीवन जन्मकैदको फैसला भएको श्रेस्तेदार (उपसचिव) नवराज जोशीले जनाउनुभयो । करणीमा पीडित जीवित रहेको अवस्थामा जन्मकैदको व्यवस्था छ तर करणी पश्चात हत्या हुँदा दोहोरो सजाय हुने व्यवस्था अनुसार पीडकलाई आजीवन जन्मकैदको फैसला भएको बारा जिल्ला अदालतले जनाएको छ ।मुलुकी अपराध संहिता अनुसार जन्मकैद भन्नाले २५ वर्ष र आजीवन जन्मकैद भन्नाले जीवनभर कैद सजायलाई मानिन्छ । ‘दुबै कसुर कायम हुने ठहर भएकाले प्रतिवादी सन्तोष साह कानुलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ अनुसार जीवित रहेसम्म कैद हुने ठहर्छ,’ जिल्ला अदालतका श्रेस्तेदार जोशीले भन्नुभयो ।घरबाट बाख्रा चराउन गएकी बालिका सोही दिनदेखि बेपत्ता भएकी थिइन् । त्यसको २ दिनपछि ०७८ पुस २७ गते दिउँसो अन्दाजी १२ः३० बजे जमुनी खोलाको पानीमा ती बालिका मृत अवस्थामा फेला परेकी थिइन् । बाख्रा चराइरहेकी बालिकालाई साहले आफ्नै पिताले सञ्चालन गरेको कुखुरा फर्म नजिकै बोलाएर करणी गरेको र बालिका चिच्याएपछि घाँटी थिचेर, बालिकाको टाउकोमा कोदालो हानेर हत्या गरेका थिए ।हत्या लगत्तै साहले बालिकाको शव बोराले छोपी राखेको र सोही दिन राति १२ बजेपछि कोही नभएको मौका छोपेर जमुनी खोलामा फालेका थिए । साहले बालिकाको करणी र हत्या लगत्तै घटनामा प्रयोग भएका केही सामान आगो लगाएर जलाएका थिए । भोलिपल्ट बिहान कुखुरा फर्मबाट आमा घरतर्फ जान लाग्दा साहले प्लाष्टिकको झोलामा बालिकाको जुत्ता, रुमाल प्याक गरी आफ्नी आमा शान्तिदेवीलाई नहरमा लगेर फाल्न लगाएका थिए । यद्यपि, सो घटनामा बारा जिल्ला अदालतले शान्तिदेवीलाई भने सफाइ दिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा शान्तिदेवीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले नै छोराले आफूलाई नहरमा फाल्न पठाएको झोला लगायतका विषयमा जानकारी दिएपछि प्रहरीले बालिकाको हत्यामा साह नै संलग्न रहेको पत्ता लगाएको थियो ।

Leave a Reply