कलैया,नेपाली कांग्रेसको बारा जिल्ला सभापतीमा राजेश राय यादव निर्वाचित हुनुभएको छ । सभापतीमा विजयी यादव, कलैया उपमहानगरपालिकाको नगरप्रमुख पनि हुनुहुन्छ । सोमबार बिहान सकिएको मतगणना अनुसार प्रतिस्पर्धी शम्भुबहादुर बुढाथोकीलाई ५२ मत अन्तरले पराजित गर्दै यादव सभापतीमा विजयी हुनु भएको हो ।

जिल्ला सभापती चयनको लागि आइतबार सम्पन्न दोश्रो चरणको मतदानमा यादवले १ हजार २ सय ६ मत पाउनु भएको थियो भने बुढथोकीले १ हजार १ सय ५४ मत मात्रै पाउनुभयो । सभापतीमा निर्वाचित यादव र पराजित बुढाथोकी दुवै जना पार्टी सभापति शेरबहादुर देउवा समुहका हुनुहुन्छ । यसअघि गत बुधबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका ३ जना उम्मेदवार मध्ये पार्टीको विधान अनुसार कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि आइतबार दोश्रो चरणको मतदान भएको थियो ।

आइतबार भएको दोश्रो चरणको मतदानमा कुल २ हजार ४ सय ८० मत मध्ये २ हजार ४ सय ८ मत खसेको थियो । पहिलो चरणको मतदानमा तेश्रो स्थानको मत ल्याएर दोश्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिनु भएका शेखर कोइराला र कृष्ण सिटौला समुहका उम्मेदवार रामानन्द यादवले दोश्रो चरणको मतदानमा भने राजेश राय यादवलाई समर्थन गर्नुभएको थियो । तर रामानन्द यादव प्यानलबाट उसभापती, सचिव र सहसचिव पदमा उम्मेदवारी दिएकाहरुले भने दोश्रो चरणको मतदानमा बुढाथोकीलाई समर्थन गरेका थिए ।

यसैबीच कांग्रेस बाराको सभापतीमा निर्वाचनको क्रममा राजेशराय यादव र उहाँलाई दोश्रो चरणको मतदानमा समर्थन गर्ने अर्का उम्मेदवार रामानन्द यादवबीच दोश्रो चरणमा राजेशरायलाई सघाउन गरिएको गोप्य सम्झौता पत्र बाहिरिएको छ । सम्झौता अनुसार हाल कलैया उपमहानगरपालिकाका नगर प्रमुख समेत रहनु भएका राजेशले सभापतीमा विजयी भएपछि आगामी स्थानीय निकाय निर्वाचनमा कलैया उपमहानगरपालिकाको नगर प्रमुख पदमा रामानन्दको एकल नाम सिफारिस गर्ने लिखित प्रतिबद्धता जनाउनु भएको छ ।

यस्तै पार्टी सञ्चालनको लागि रामानन्द समुहबाट ४ जना सदस्य रहने गरी ९ सदस्यी कोर कमिटी गठन गर्ने, कोर कमिटीले नै स्थानीय, प्रादेशिक तथा संघीय निर्वाचनमा उम्मेदवार हुनेहरुको निर्णय गर्ने, कोषाध्यक्ष सहित जिल्ला कमिटीमा मनोनित हुने सदस्यहरुमध्ये ५० प्रतिशत रामानन्दले भनेका व्यक्ति मनोनयन गर्नु पर्ने, राजनितिक नियुक्ति र सक्रिय सदस्यता प्रदान गर्दा कोर कमिटीकै निर्णय अनुसार हुनुपर्ने र उक्त सम्झौताहरु पार्टीको विधान विपरीत भएपनि मान्नु पर्ने लगायतको १० बुंदेमा सहमति भएको छ ।

मतदानको अघिल्लो शुक्रबार राति गरिएको उक्त सम्झौतापत्रमा स्वंय राजेशराय र उहाँका बुवा तथा नेपाली कांग्रेस बाराका पूर्वसभापती राधेचन्द्र यादवले हस्ताक्षर गर्नु भएको छ भने रामानन्दको पक्षबाट पूर्वसभापती लालबाबु सिंह तथा पूर्वजिविस सभापती राजेन्द्रप्रसाद यादवले हस्ताक्षर गर्नु भएको छ । रामानन्द समुहबाटै सचिव पदमा लडेका राजेश रौनियारले रामानन्दको निर्णय व्यक्तिगत लाभ तथा चरम जातीय सोचमा प्रेरित रहेको भन्दै आलोचना गर्नु भएको छ । परिवारवादको विरोध गर्ने रामानन्दले परिवारवादलाई नै बढावा दिएको भन्दै उहाँहरुले गरेको निर्णयसंग आफुहरु सहमत नभएर अलग बाटो रोजेको रौनियारले बताउनुभएको छ ।

Leave a Reply