आरके राजन
सिंमै्रानगढ,बाराको सिम्रौनगढमा प्राचिन मूर्ति भेटिएको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर १ ननसगरा ढाठमा पोखरी सरसफाइ र डिल निर्माण गर्ने क्रममा कालो पत्थरको बहुमुल्य मूर्ति फेला परेको हो ।ननसगरा ढाट भन्ने पुरानो पोखरीमा आइतबार राति ११ः३० बजे मूर्ति फेला पारिएको सिम्रौनगढ नगरपालिका वडा नं. २ का अध्यक्ष दिनदयाल मुखियाले जानकारी दिनुभयो ।सो मूर्ति हेर्न अहिलो पोखरी क्षेत्रमा स्थानीयको भिड लागेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढले मूर्ति फेला परेको सूचना प्राप्त हुनसाथ मूर्तिको सुरक्षा प्रदान गरिरहेको प्रहरी निरीक्षक जितेन्द्र साहले बताउनुभयो ।उक्त मूर्ति हाल स्थानीय त्रीलोकीनाथ माहादेव मन्दिरामा राखिने वडा अध्यक्ष मुखियाले बताउनुभयो । फेला परेको सो मूर्ति कुन देवताको भन्ने स्पष्ट हुन सकेको छैन । तर स्थानीयका अनुसार ब्रह्मादेव वा विश्वकर्मा भगवानको हुनसक्ने अनुमान छ । पाँच फिट लम्बाई र तीन फिट चौडाईको सो मूर्तिको केही भाग फुटेको छ । यस्तै दुई दशकअघि सोही गाँउमा शंकर भगवानको लिंङ फेला परेको थियो । त्यहाँ एउटा मन्दीर पनि छ । यो ऐतिहासिक पर्यटकी एव धार्मिक स्थल सिम्रौनगढमा एक महिनाअघि सिम्रौनगढ ७ टोलको कन्काली पोखरीको डिलबाट कासिदाकारी युक्त कालो पत्थरको प्लेट र सिम्रौनगढ ४ टोल हरिहरपुरमा वर्थिङ्ग सेन्टरको जग खन्ने क्रममा दक्षिण कार्नाटक मन्दिरको गुम्बज ढाँचाको तीन वटा मूर्ति भेटिएको थियो ।



















