हुन त पद र पैसा भनेको कुरा कसैका लागि बढी हुदैन । पदका र पैसाका लागि नै मान्छले अनेक अनेक हर्कतहरु गर्ने गर्दछन् तर यसो भन्दैमा सबैथोक यही हो भन्ने ठानियो भने त्यो सबैभन्दा घातक हुन्छ । र त्यसले एकदिन आफूलाई त सिध्याउछ नै साथमा आफूले आर्जन गरेको मान र शान पनि गुम्नेछ । त्यसैले कुनै पनि व्यक्तिले कुनै पनि कदम चाल्नुअघि धेरै विषयमा सोच विचार गर्न आवश्यक छ । एक दिन पनि नटिक्ने फर्जी काम गर्नुको कुनै अर्थ छैन ।
बाराको सिम्रौनगढमा यस्तै भएको छ । एकजना अधिकृतले नगर प्रमुखकै हस्ताक्षर कीर्ते गरेर प्रमुख प्रशासकीय अधिकृतको हात पारेका तथ्य बाहिर आएपछि उनले अहिलेसम्म आर्जन गरेको इज्जतमाथि दाग लागेको छ । प्रमुख बन्नका लागि त्यत्ति धेरै हतारिन आवश्यक नै छैन । माथिल्लो तहको कर्मचारी भएपछि त एकदिन पालो आइहाल्छ नि भन्ने सोच र धैर्य हुन आवश्यक छ । फेरि हाकिम हुदैमा केके न भइहाल्ने चैं होइन । कयौं हाकिमहरुले अनियमितताको अभियोगमा जेलको यात्रा गर्नुपरेको पनि छ । यो तथ्यलाई पनि ख्याल गर्न आवश्यक छ । त्यसैले पदका लागि अपराध वा गलत गर्न हुन्न । यो देशमा हालै बाहालवला मुख्य सचिवकै पद गएको उदाहरण पनि छन् । त्यसैले हतार गर्न पनि हुदैन । धैर्य र इमान्दारिताले मात्रै सबैथोक आर्जन गर्न सकिन्छ । यसतर्फ कर्मचारीहरुले कम्तीमा ख्याल गर्नु पर्दछ । सिम्रौनगढको प्रमुख प्रशासकीय अधिकृतका लागि जे भयो, त्यस्तो अब कतै नदोहोरियोस, नहोस् ।















