सिमरा,फूटवल क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यसहित बाराको सिमरामा सोमवारदेखि ‘एएफसी सी लाइसेन्स डिप्लोमा कोचिङ कोर्स’ शुरु भएको छ ।बारा जिल्ला फुटवल संघको आयोजना तथा जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा १२ दिने कोर्स शुरु भएको हो ।
सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा शुरु भएको कोर्समा मधेस प्रदेशका २३ र बागमती प्रदेशका एक गरी २४ जना सहभागी छन् । उनीहरुलाई नेपालका लागि एशीयाली फुटवल महासंघ (एएफसी) को टेक्निकल अफ एजुकेशन डिपार्टमेन्ट प्रमुख सञ्जित सिंह र एन्फाका प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रशिक्षण दिनेछन् ।सिंहको उपस्थितिमा शुरु भएको उक्त प्रशिक्षणलाई एएफसीले मान्यता दिएको छ । बारा जिल्ला फुटबल संघको अनुरोधपछि सिंहको पहलमा प्रशिक्षण कार्यक्रम तय भएको हो । पहिलो चरणमा सात र दोस्रो चरणमा पाँच गरी १२ दिनसम्म संचालन हुने कोर्सपछि सहभागीले प्राविधिक र फिजिकल फिटनेसमा उतिर्ण गर्नुपर्नेछ । उतिर्ण भएकाले मात्रै एएफसीबाट मान्यताप्राप्त सी वर्गको फूटवल प्रशिक्षकको लाइसेन्स पाउनेछन् ।
नेपालका विभिन्न स्थानमा कोर्सको आयोजना गरिसकेका सिंहले मधेस प्रदेशमै पहिलो पटक सिमरामा कोर्ष सुरु गर्नुभएको हो । उक्त कोर्सले बाराको फुटवल क्षेत्रको विकासमा दक्ष जनशक्ति उत्पादन हुनेमा विश्वस्त रहेको जिल्ला फूटवल संघका अध्यक्ष रामचन्द्र लामाले बताउनुभयो ।विद्यालय तहबाटै फुटवलमा रुची राख्ने विद्यार्थीको संख्या बढ्दो अवस्थामा रहेपनि प्रशिक्षण दिने दक्ष जनशक्ति अभाव महसुस भएका कारण कोर्सको आयोजना गरिएको लामाको भनाई छ । यसबाट उत्पादन भएको जनशक्तिले बारा जिल्ला मात्र नभई मधेस प्रदेशमै फुटवलको विकासका लागि ठुलो योगदान गर्नसक्ने र कोर्सबाट लाइसेन्स प्राप्त गरेकाहरुले प्रशिक्षकको भूमिकामा रोजगार हुने अवसर समेत प्राप्त गर्ने लामाले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद विकास महाशाखाका प्रमुख शिवजी प्रसादले गर्नुभएको थियो । उद्घाटन समारोहमा मधेस प्रदेशका महासचिव दीपक साह, जिल्ला फूटबल संघका महासचिव रामकृष्ण श्रेष्ठ, नवजनजागृति युवा क्लब सिमराका उपाध्यक्ष शंकर थापा, राजदास श्रेष्ठलगायत उपस्थित थिए । उद्घाटन समारोहको सहजीकरण महासचिव शम्भुसिंह ठकुरीले गर्नुभएको थियो ।
















