रौतहट, रौतहटमा चिसो अत्याधिक बढेपछि चन्द्रपुर नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखेर विद्यालय बन्द गरिएको चन्द्रपुर नगरपालिकाले जनाएको छ ।चन्द्रपुर नगरपालिकाका शिक्षा अधिकृत दीपेन्द्रकुमार मण्डलले दिनुभएको जानकारी अनुसार पुस १४ देखि १८ गतेसम्म सबै विद्यालयमा जाडो बिदा दिइएको हो ।

यसअघि शीतलहर र चिसोका कारण रौतहटको माधव नारायण नगरपालिकाले शुक्रबार सूचना प्रकाशन गरेर पुस १३ देखि १८ गतेसम्म नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा बिदा दिएको थियो ।त्यस्तै अधिकांश विद्यालयले यसअघि नै बिदा दिएको थियो । गौर नगरपालिका, राजपुर नगरपालिका, राजदेवी नगरपालिका र ई शनाथ नगरपालिकाले पुस ८ देखि ११ गतेसम्म चार दिनका लागि तथा देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, वृन्दावन नगरपालिका र गढिमाई नगरपालिकाले पुस ९ देखि ११ गतेसम्म तीन दिनका लागि आआफ्नो नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको थियो । चिसो र शीतलहर यथाबत रहेकाले पुस १३ देखि १५ गतेसम्म तीन दिनका लागि पुनः विद्यालयमा बिदा दिइएको वृन्दावन नगरपालिकाका प्रमुख विनोदप्रसाद कुर्मीले जानकारी दिनुभयो । अवस्था अनुकूल नभए पुनः बिदा थप हुनसक्ने उहाँले बताउनुभयो ।

Leave a Reply