रौतहट, ०६ मंसिर । जनताको सुरक्षा, कानून-व्यवस्थाको निगरानी र समाजमा नैतिक आचरण कायम राख्न जिम्मेवारी पाएका प्रहरी अधिकारीकै संरक्षणमा खुलेआम आर्केस्टा नाच संचालन भएको आरोप सार्वजनिक भएको छ ।

इलाका प्रहरी कार्यालय लक्षमिनीयाका प्रहरी निरीक्षक सुरेन्द्र यादवको प्रत्यक्ष संरक्षण र मौन सहमतिको आडमा फतुवा विजयपुर नगरपालिका क्षेत्रमा जारी समा–चकेवा मेलामा आलोच्य प्रकारको आर्केस्टा नाच प्रदर्शन भएको स्थानीयले बताएका छन् ।

सामा–चकेवा मेलालाई सांस्कृतिक, धार्मिक र पारिवारिक पर्वका रूपमा मनाइँदै आइएको छ । तर मेलाको अन्तिम दिनचाेखरी प्रहरीकै उपस्थितिमा अश्लीलतामाथि झुकाव देखिनेगरी आर्केस्टा नचाईएको सूचना प्राप्त भएपछि स्थानीय अभिभावक, समाजसेवी र सचेत नागरिकले गम्भीर आपत्ति जनाएका छन् ।

उनीहरूले प्रहरीकै संरक्षणमा यस्तो प्रस्तुतिले समाजमा नकारात्मक असर पर्ने, युवापुस्तालाई गलत दिशातर्फ धकेल्ने र सांस्कृतिक पर्वलाई बदनाम बनाउने चेतावनीसमेत दिएका छन् ।

यसबारे बुझ्न इलाका प्रहरी कार्यालय लक्षमिनियाका प्रहरी निरीक्षक सुरेन्द्र यादवले प्रयोग गर्ने मोबाइल नम्बर ९८५५०४२०९६ र ९८५५०३३१९९ मा पटक–पटक सम्पर्क गरिए पनि उनले फोन नउठाएको समाचार स्रोतले जनाएको छ ।

सम्पर्क नउठाउँदा घटनाप्रति प्रहरी नेतृत्वको गम्भीरता र उनीहरूको संलग्नताबारे थप प्रश्नचिन्ह खडा भएको स्थानीयको आरोप छ । स्थानीयवासीका अनुसार मेलामा प्रशासनले कडाइ गर्ने बताइए पनि व्यवहारमा प्रहरी निरीक्षक यादवको निर्देशन र संरक्षणमै आर्केस्टा नाच चल्न पाएको दाबी गरिएको छ । कार्यक्रम नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरी टोली स्वयं विवादित क्रियाकलाप रोकेर रोकथाम गर्ने सट्टा मौन बसेको भन्दै स्थानीयले कडा आलोचना गरेका छन् । 

यस प्रकरणले रौतहटको प्रहरी प्रशासन पहिल्यैदेखि आलोचित छवि थप गम्भीर बनेको छ ।

Leave a Reply