वीरगञ्ज,समाजसेवी एवम् बरिष्ठ उद्योगी अशोक वैद्यले वीरगञ्जको एक विद्यालयलाई विभिन्न सामग्री सहयोग गर्नुभएको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ गणेशमान चोकस्थित श्री सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालयलाई केएनपी जापान प्रा.लि. का सञ्चालक वैद्यले स्टेशनरी र फर्निचरका गरी करिब २ लाख बराबरको सामग्री सहयोग गर्नुभएको हो ।
बुधवार विद्यालयमै पुगेर उहाँले विद्यालयकी प्रधानाध्यापक अनिताकुमारी साहलाई सो सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो । उहाँले ५५ ईन्चको एलईडी टिभी १ थान, टेबुल १ थान, कुर्सी १ थान, कबोर्ड २ थान, स्टेन्ड पंखा २ थान, पर्खाल घडी २ थान र १ थान कार्पेट हस्तान्तरण गर्नुभएको हो ।
सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विद्यालयलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराएको उद्योगी वैद्यले बताउनुभयो । प्राप्त सामग्रीले विद्यालय व्यवस्थापन तथा सञ्चालनमा सघाउ पुग्ने प्रधानाध्यापक साहको भनाई छ । उहाँले सहयोगका लागि वैद्यप्रति आभार प्रकट गर्दै अरुलाई पनि सहयोग गर्न अनुरोध गर्नुभएको छ ।उद्योगी एवम् समाजसेवी वैद्यले वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु, विद्यालय व्यवस्थापन समिति शिक्षक प्रतिनिधि अन्नपूर्ण मानन्धर, केएनपी जापान प्रा.लि.का प्रतिनिधि प्रवीण जाधव लगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गर्नुभएको हो ।


















