निजगढ,अज्ञात समुहको खुकुरी प्रहारबाट निजगढ नगरपालिका वडा नम्बर १२ मा सोमवार राति एक जना घाइते भएका छन । निजगढ १२ रामथलीका अन्दाजी ४० वर्षका एमाले कार्यकर्ता भिमबहादुर गोले अज्ञात समूहको खुकुरी प्रहारबाट घाइते भएका हुन ।प्रहरीका अनुसार मोटसाइकलबाट आएका व्यक्तिले घरको झ्याल खुल्ला राखेर सुतिरहेको अवस्थामा राति १ ः ३० बजे गोलेमाथि खुकुरी प्रहार गरी फरार बनेका थिए । घटनाको खबर पाएलगत्तै अस्थायी प्रहरी पोष्ट रतनपुरबाट पुगेको प्रहरी टोलीले घटनास्थलबाट करिव १ सय मिटर पर सडकमा ग २४ प ७०४६ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल बरामद गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताउनुभएको छ ।
घटनापछि आफन्त र स्थानीयले होहल्ला गरेपछि अपराधिहरु मोटरसाइकल र मोबाइल छोडेर खेतको बाटो हुदै फरार बनेको उहाँले जानकारी दिनुभयो ।
घटनाबाट बरामद मोटरसाइकल र मोबाइल सिमको आधारमा घटनाको अनुसन्धान अघि बढाइएको निरीक्षक कुशवाहाले बताउनुभयो । घाइते गोलेको टाउको, निधार, च्यापु, घाटी र दाँया हातमा चोट लागेको र हाल हेटौडास्थित चुरे हिल अस्पतालमा उपचार भइरहेको छ । गोलेको स्वास्थ्य अवस्थामा सुधार हुदै आएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच आफ्नो पार्टीका कार्यकर्तामाथि खुकुरी प्रहार भएको घटनाको नेकपा एमाले निजगढले भ्रत्सना गरेको छ । पार्टी सचिव तिलक घलानले मंगलवार विज्ञप्ति निकालेर दोषिलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको माग गर्नुभएको छ । गोले नेकपा एमालेको संघठित पार्टी सदस्य रहेको विज्ञप्तिमा जनाइएको छ ।

















