चन्द्रपुर,माछापुछ्रे बैकको चन्द्रपुर शाखाबाट एक सेवाग्रहीको ९ लाख रकम हराएको छ ।आइतबार ८ लाखको चेक साट्न पुग्नुभएका जिल्लाको बृन्दावन नगरपालिका वडा नम्बर ३ का रामेश्वरराय यादबको बैङ्क खाताबाट ९ लाख रकम हराएको हो । शुक्रवारसम्म उहाँको खातामा १२ लाख २० हजार रकम जम्मा थियो ।बृन्दावन नपाका पूर्ववडा अध्यक्ष समेत रहेका सेवाग्रही यादवको खाताबाट रकम हराएपछि आइतवार दिनभर स्थानीयले बैंकमा खैलाबैला मच्चिएको थियो ।गत बिहीवार उहाँले १२ लाख २० हजार रकम माछापुछ्रे बैंकमा जम्मा गर्न चेक (क्लिरियन्समा) दिनुभएको थियो ।शुक्रबार दिउसो ३ बजे खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको मोबाइलमा म्यासेज समेत आएको थियो ।आइतबार ८ लाखको चेक लिएर साट्न गएका सेवाग्रही यादबले खाताबाट ९ लाख हराएको जानकारी पाउनुभएको थियो । माछापुच्छे बैंकका चन्द्रपुर शाखा प्रमुख रामजी दासले ह्याकरले पैसा लगेको जवाफ दिनुभएको छ ।शाखा प्रमुख दासले भन्नुभयो, ‘ह्याकरले सेवाग्राही यादबको खाताबाट पैसा तानेको छ, ‘यसमा हामी केही गर्न सक्दैनौ ।’शाखा प्रमुख दासले खातावालालाई ह्याकर आफै पत्ता लगाउनु भनेपछि पीडितका आफन्तले बैकले आफूहरुमाथि गैरजिम्मेवारपुर्ण व्यवहार गरेको गुनासो थिए ।खातावाल पीडित यादबले बैंककै कर्मचारीको मिलोमतोमा पैसा गायब भएको आरोप लगाउनुभएको छ । ‘खाताबाट पैसा हरायो भनेर बिहानै जानकारी गराउदा समेत बैंक प्रमुख दासले बेवास्ता गरेको पीडितको भनाइ छ ।सेवाग्रहीको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाइल प्रयोग गरि रकम निकालेको पाइएको छ ।खातावाल यादबको खाताबाट रकम सिटिजन बैक, सानीमा बैंकमा ट्रान्सफर भएको शाखा प्रमुख दासले बताउनुभएको छ ।ईलाका चन्द्रनिगाहपुरका डिएसपी एकनारायण कोइरालाले सेवाग्रही यादबको खाताबाट रकम हराएको विषयमा अनुसन्धान शुरु गरेको जानकारी दिनुभएको छ ।


















