वीरगञ्ज,वीरगञ्जस्थित संघीय नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपनको उपचार सेवा शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप मन्त्री पौडेलले एक कार्यक्रमबीच दुवै सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो ।
महिलामा बढ्दो क्यान्सरको जोखिमलाई मध्यनजर गर्दै मधेश प्रदेशका महिलालाई लक्षित गरी मेमोग्राम सेवा (स्तन क्यान्सर परीक्षण) सुरु गरिएको हो ।यसैगरी निःसन्तान दम्पति लक्षित बाँझोपनको उपचारसमेत अस्पतालमा शुरु भएको छ ।
नसर्ने रोगहरू विरुद्ध पूर्वसावधानीका उपायहरूमा जोड दिँदै मन्त्री पौडेलले मधेश प्रदेशका महिलालाई सुपथ मूल्यमा समयमै स्वास्थ्य परीक्षण उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।मन्त्रालयको सहयोगमा अस्पतालमा यसअघि नै पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार सञ्चालनमा आइसकेको छ । मन्त्री पौडेलकै सक्रियतामा अस्पतालमा लामो समयदेखि सञ्चालन हुन नसकेको क्याथ ल्याब सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
नयाँ बजेटमा मधेस प्रदेशमा लक्षित समुदायको लागि मृगौला उपचार केन्द्रका लागि समेत व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री पौडेलले अन्य आवश्यक सेवा विस्तारमा प्राथमिकताका साथ काम गरिने बताउनुभयो ।

Leave a Reply