राजन कुमार बानिया
पोखरिया,पर्साको पोखरियामा मंगलबार रातिदेखि आतंक मच्चाउदै आएको चितुवालाई बुधबार साँझ नियन्त्रणमा लिइएको छ ।चितवन राष्ट्रिय निकुञ्जबाट आएको टोलीले डार्ट (बेहोस पार्ने सुई) हानेर बुधबार साँझ ६ बजेतिर चितुवालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिनुभयो ।पर्सा राष्ट्रिय निकुञ्जको जंगलबाट बाटो बिराएर खेत हुँदै मध्यरातमा गाउँ छिरेको चितुवाको आक्रमणबाट पोखरियामा एक प्रहरी जवानसहित तीन जना घाइते भएका थिए । चितुवाको आक्रमणबाट पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियाका जोगिन्द्र साह तेली, वडा नम्बर ४ का दिलमहम्मद मियाँ र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी जवान सुचिन्द्रप्रसाद यादव घाइते भएका थिए ।अक्रमणकारी चितुवा नियन्त्रणका लागि बुधबार बिहानैदेखि प्रयास गरिएको भएपनि साँझ मात्र नियन्त्रणमा आएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सुर्य खड्काले जानकारी दिनुभयो ।सतवरिया गाउँका स्थानीय शंकर प्रसादको फुसको घरमा बिहानैदेखि लुकेर बसेको चितुवालाई नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, डिभिजन वन कार्यालय र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणामा लिन गरेको प्रयास दिनभरि नै विफल बनेको थियो । त्यसपछि चितवन राष्ट्रिय निकुञ्जबाट डार्ट (बेहोस पार्ने) गर्ने टोली मगाइएको र सोही टोलीले डार्ट गरेर चितुवालाई नियन्त्रणमा लिएको खड्काले बताउनुभयो ।



















