हरेक सरकारले २०७२ साल असोज ३ गते संबिधान जारी भएपछि जेठ १५ गते बजेट ल्याउनुपर्ने बाध्यता छ । बजेटकै विषयमा राजनीतिक दलहरुका बीचमा निकै खिचातानी हुने गरेपछि संबिधानमै बजेट ल्याउने दिन किटान गरिएको हो । बजेट ल्याउने दिन तोकिएसंगै सरकार बजेटको तयारीमा जुट्ने गर्दछ । सरकारले बजेट ल्याउनुपूर्व संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्छ र वर्तमान सरकारले पनि नीति कार्यक्रम शुक्रबार मात्रै सार्वजनिक गरेको छ ।
सरकारले सार्वजनिक गरेको नीति कार्यक्रम, यो सरकारका लागि पहिलो भएपनि नेपाली जनताका लागि भने पहिलो होइन । सरकारहरुले हरेक वर्ष यस्ता नीतिा तथा कार्यक्रमरु ल्याउने गर्दछन् तर कार्यान्वयन पक्ष निकै फितलो हुने गर्दछ । नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारी पक्ष एकदमै लाचार जस्तै बन्ने गरेको छ । बिगतमा यस्तै देखिएको छ ।सत प्रतिशतको त के कुरा नीति तथा कार्यक्रममा समावेश भएको मध्ये ७० प्रतिशत मात्रै कार्यन्वयन भएपनि नागरिहरुले धेरै राहत पाउने थिए । सरकार भएको महसुस नागरिहरुलाई हुने थियो, जुन अहिलेसम्म भएको छैन । यो सरकारले गरेको खण्डमा यसलाई धन्यवाद दिनुपर्छ तर कार्यन्वयनमा चुनौति रहेकाले आशंका नै आशंका छ ।
















