बसन्त लामा
सिंगौल,बाराको निजगढसंग सीमा जोडिएको मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ स्थित आहाल डाडामा विद्युत प्रसारण लाइनको उद्धाटन गरिएको छ ।बागमती प्रदेश सभा सदस्य छिन्तु (प्रेम पुलामी) ले एक कार्यक्रमबीच शनिवार विद्युत प्रसारण लाइनको उद्धाटन गर्नुभएको हो ।

विद्युत लाइनको उद्धाटनसंगै बकैया गाउँपालिका वडा नम्बर १ को आहाल डाँडा, धियाल र नेवार डाँडाका करिव १५० घरधुरी परिवारले बिजुली प्रयोग गर्न पाउने भएका छन । विद्युत सेवाबाट बन्चित रहदैआएका सो क्षेत्रका बासिन्दाले उज्यालोको लागि यसअघि सोलार बत्तीको प्रयोग गर्दैआएका थिए ।
गाउँमा बिजुली बत्ती बल्ने भएपछि गाउँमा खुसियाली छाएका स्थानीय काजीमान थिङले बताउनुभएको छ । उज्यालोमा बस्न पाउने भएपछि गाउँलेहरु हर्षित बनेको उहाँले सुनाउनुभयो । ‘वर्षौदेखि अध्यारोमा बस्दैआएका थियौं, थिङ्गले भन्नुभयो, बत्ती बल्ने भएपछि अब गाउँ नै उज्यालो हुने भयो ।’
सोही अवसरमा गाउँलाई रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को गैंडाटारसंग जोडने चाँदी नदीमा झोलुङ्गे पुलको समेत उद्धाटन गरिएको छ । संघीय सरकार र बागमती प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएको सो पुल निर्माण सम्पन्न भएको बकैया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष आशिष तितुङ्ले जानकारी दिनुभयो । बकैया गाँउपालिका र चन्द्रपुर नगरपालिकाको बीचमा रहेको चाँदी खोला पुल नहुँदा बर्खा लागेपछि खोलामा आउने बाढीले स्थानीयलाई आवत जावतमा समस्या हुदैआएको थियो ।कार्यक्रमामा विशिष्ट अतिथि मकवानपुर जिल्ला समन्वय समितिका ललित घलान, जिल्लाको बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान, बकैया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विश्वराज स्याङतान, बकैया गाउँपालिका कार्यपालिका सदस्य कृपा माझी (लक्ष्मी माझी) बकैया गाउँपालिकाका उपप्रमुख भक्तबहादुर खत्री, बकैया गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष आशिष तितुङ, स्थानीय बासिन्दा, राजनीतिक दल र विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।


















