काठमाण्डौं,सरकारले सहरी क्षेत्र तथा राजमार्ग वरपर यात्री, पर्यटक, सेवाग्राहीको अत्यधिक चाप हुने सार्वजनिक ठाउँमा निजी तथा सामुदायिक साझेदारीमा एक हजार वटा सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्राम स्थल बनाउने घोषणा गरेको छ ।शुक्रवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो । उहाँले राजमार्गमा सार्वजनिक निजी साझेदारीमा स्मार्ट रोड साइट स्टेशन निर्माण गर्ने घोषणा गर्नुभयो । यसैगरी सरकारले तीन तहकै सरकारको समन्वयमा सरसफाइ, स्वच्छताको कायर्कक्रमलाई राष्ट्रिय अभियानको रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ । त्यस्तै सरकारले नदीनाला तथा पानीको स्रोतलाई प्रदूषणमुक्त राख्न फोहर पानी प्रशोधन प्रणालीको विकास र विस्तार गर्ने भएको छ ।त्यसैगरी सरकारले हरेक पालिकामा कम्तीमा एउटा विद्यालयलाई स्मार्ट विद्यालय बनाई प्रविधिको माध्यमबाट पठनपाठन हुने व्यवस्था मिलाइने नीति लिएको छ । हिजो संसदमा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रमले यस्तो योजना सार्वजनिक गरेको हो । नीति तथा कार्यक्रममा सर्वसुलभ गुणस्तरीय शिक्षाको अवधारणाबमोजिम शिक्षा क्षेत्रलाई अगाडि बढाइने, विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ‘ल्याउने, सिकाउने र टिकाउने’ कार्यलाई प्रोत्साहनमूलक कार्यक्रमसहित अभियानका रूपमा सञ्चालन गरिने उल्लेख छ । यस्तै पढ्दै कमाउँदै कार्यक्रमलाई पढ्दै कमाउँदै, कमाउँदै पढ्दै कार्यक्रमको रूपमा सञ्चालन गरिने भएको छ । आधारभूत तहमा गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गर्न दलित, अल्पसङ्ख्यक, लोपोन्मुख, पिछडिएको क्षेत्र, दुर्गम तथा हिमाली क्षेत्र र आर्थिक रूपले विपन्न तथा अपाङ्गता भएका बालबालिकाका लागि विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सङ्घीय शिक्षा ऐन संसद्को यसै अधिवेशनबाट पारित गरिने, शिक्षण पेसालाई मर्यादित र आकर्षक बनाउन विशेष प्याकेजको व्यवस्था गरिने सरकारले नीति लिएको छ । ‘हाम्रो स्कुल, बनाऔँ राम्रो स्कुल’ अभियानअन्तर्गत सामुदायिक विद्यालयमा पालिकाबाट विषयगत दक्ष शिक्षक दरबन्दीको व्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

Leave a Reply