आरके राजन

सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकामा मातृभाषा शिक्षा भोजपुरीको संवद्र्धन कार्यक्रम सम्पन्न भएको छ ।सिम्रौनगढ ७ स्थित नगरपालिकाको सभा कक्षमा मंगलबार कार्यक्रम सम्पन्न भएको हो ।नेपाल भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नेपालमा बोलिने भाषाहरुको प्रयोगको क्षेत्र, मातृ भाषाको माध्यमबाट भाषाको प्रयोग र भोजपुरी भाषामा पठन पाठन लगायतको सम्बन्धमा छलफल गरिएको थियो ।आयोगका अध्यक्ष ठाकुरले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपालमा शिक्षाको भाषीय पृष्ठभूमि, बहुभाषी शिक्षा, नेपालीमा बहुभाषी शिक्षाभ्यास, बहुभाषी शिक्षाको समस्य, समस्यामाथि प्रतिप्रश्न, बहुभाषी शिक्षाको वास्तविकता लगायत शीर्षकमा ठाकुरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भाषा आयोगका सदस्य गोपाल अष्क, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य उपेन्द्र सहनी, भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष रामप्रसाद साह, साहित्यकार सुरेन्द्र गिरी, बिनयराज गौतम, रामेश्वर मेहतालगायतले आफ्नो विचार राख्नुभएको थियो ।नेपाल भाषा आयोगका सदस्य गोपाल अष्कले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सिम्रौनगढ नगरपालिका शिक्षा शाखा संयोजक कमलेश अग्रहरीले गर्नुभएको थियो ।कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुको सहभागिता थियो ।


















