बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नं. १ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा २ कोठे नयाँ भवनको शिलान्यास गरिएको छ ।मधेस प्रदेश सांसद मिना लामाले धार्मिक विधिअनुसार मंगलबार बिहान दुई कोठे भवनको शिलान्यास गर्नुभएको हो । मधेस प्रदेश सांसद विकास कोषबाट विनियोजित २० लाख रुपैयाँले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा दुई कोठे भवनको निर्माण सुरु गरिएको हो ।भवन शिलान्यास कार्यक्रममा नेपाली काँग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिना, निजगढ वडा नम्बर १ का अध्यक्ष मगल लोप्चन, कार्यपालिका महिला सदस्य फुलमाया लोप्चन, मानबहादुर डासेली, वडा नं. १ का जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।विनियोजित बजेटबाट काम गर्ने समय कम रहेकोले विवादरहित वातावरणमा भवन निर्माण सम्पन्न गर्न सांसद लामाले भवन निर्माण उपभोक्ता समितिलाई निर्देशन दिनुभयो । नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यालय र व्यवस्थापन समितिले अन्य संघसंस्थासँगको समन्वयमा विगतमा भवन निर्माण गर्दै आइरहेकोमा पहिलो पटक मधेस प्रदेशको बजेटबाट काम गर्न लागिएको हो ।भवन निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउनका लागि विद्यालय व्यवस्थापन समितका अध्यक्ष मानबहादुर योन्जनले पहल गर्नुभएको थियो । भवन निर्माण उपभोक्ता समितिका अध्यक्षमा स्थानीय आकास चौधरी र सचिवमा बुद्ध लोप्चन रहेकाछन ।


















