कलैया,लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन अवस्थामा रहेको महागगढीमाई नगरपालिकामा संघीय मामला तथा समान्य प्रशासन मन्त्रालयले डिल्लीराम भट्राईलाई पठाएको छ । मन्त्रालयले भट्टराईलाई आइतवार महागढीमाईमा खटाउने निर्णय गरेको हो ।मन्त्रालयको निर्णयपछि महागढीमाई नगरपालिकामा केही दिनदेखि जारी आन्दोलन समेत स्थगित भएको छ । मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय गरेपछि बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले गठबन्धनका नेता र मन्त्रीलाई अब भने नगर क्षेत्रमा स्वागत गर्ने बताउनुभएको छ ।केही दिन अघि गठबन्धनका नेता र मन्त्रीलाई नगर क्षेत्रभित्र प्रवेश निषेध गरिएको भन्दै फेसबुकमार्फत आक्रोश पोख्नुभएका यादवले स्वागत गर्ने उल्लेख गर्दै फेसबुकमा फेरि अर्को स्टाटस लेख्नुभएको छ । नगर क्षेत्रमा सत्तारुढ ५ दलीय गठबन्धनका शीर्ष नेताहरुलाई नगरपालिका क्षेत्रमा प्रवेश निषेध गरिएको भन्दै नगर प्रमुख यादवले लेखेको स्टाटसले निकै चर्चा पाएको थियो । यादवको स्टाटससंगै महागढीमाई नगरपालिकाका स्थानीयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुतला दहन गर्दै सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको राजीनामा माग गरेका थिए । स्थानीयले लगातार आन्दोलन गर्न थालेपछि मन्त्रालयले भट्टराईलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाउने निर्णय गरेको हो ।नगर प्रमुख यादवले आफ्नो अघिल्लो स्टाटस र नगर क्षेत्रमा भएको आन्दोलन अन्य कारण नभई प्रमुख प्रशासकीय अधिकृत पठाउन बेवास्था गरेकै कारण भएको बताउनुभएको छ । केही दिनदेखि काठमाण्डौमा रहनुभएका यादवले गठबन्धनका नेता र मन्त्रीसंगको भेटपछि प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय भएको बताउनुभयो ।चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाका ६ सय ५८ कर्मचारीले सेवासुविधा पाएका थिएनन् भने योजनाको काम अलपत्र अवस्थामा थियो ।















