गोकुल घोरसाइने

निजगढ, २३ साउन– निजगढ नगरपालिकाअन्तरगत रहेको कोरोना भाइरस नियन्त्रण, रोकथाम, अनुगमन र समन्वय समितिको बिहिबार बसेको बैठकले निजगढमा पनि समुदायस्तरमा कोरोना फैलिएको ठहर गर्दै निजगढमा कोरोना संक्रमित क्षेत्रबाट अनावश्यक रुपमा हुदै आएकोे आवागमनमा रोक लगाउने निर्णय गरेको छ ।

पुर्वपश्चिम राजमार्गस्थित पुर्वमा भमरा र पश्चिममा बकैया खोला पुलमा सुरक्षकर्मी र स्वास्थ्यकर्मीसहितको चेक पोष्ट स्थापना गरेर बाहिरबाट हुने अवान्छित आवागमनमा रोक लगाउने बैठकले निर्णय गरेको हो ।

बैठकमा अनावश्यक रुपमा आउनेलाई रोक्ने र काम विशेषमा आउनेहरुले पनि सम्बन्धित पालिकाअन्तरगत वडा कार्यालयको सिफारिस पत्र देखाएपछि मात्र प्रवेश गर्न दिने व्यवस्था मिलाउने निर्णण गरेको छ । निजगढ नगरपालिकाका अर्का एक युवकमा बुधबार कोरोना पुष्टि भएपछि बसेको बैठकले आवागमनमा कडाइ गर्ने निर्णय गरेको हो । निजगढ नगरपालिका वडा नम्बर ९ का २३ बर्षिय युवकमा कोरोना पुष्टि भएको हो ।

 

वीरगंजस्थित एक हेल्थ ल्यावमा काम गर्दै आएका युवकमा कोरोना पुष्टि भएको निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले जानारी दिनुभयो । काम विशेषले गत साउन ६ गते काठमाण्डौं गएका ती युवकको घर फर्किने क्रममा १३ गते फर्पिङ्गमा पिसिआर परीक्षण गराइएको थियो । युवक काठमाण्डौंबाट फर्केर सिधै निजगढस्थित घरमा बस्दै आएको बताइएको छ । युवकको अवस्था सामान्य रहेको र हाल उनीसंगै परिवारका सदस्य र निकट सम्पर्कमा रहेका १६ जनालाई होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख लामाले जानकारी दिनुभयो ।

 

त्यसैगरी बैठकले निजगढमा पिसिआर परीक्षणको दायरा बढाउन थप १ हजार थान भिटीएम तथा अन्य आवश्यक औषधिजन्य सामाग्री खरिद गर्ने निर्णय पनि गरेको छ । सेवाग्राहीहरुको सेवाको लागि अग्रपङ्गतिमा रहेर काम गर्दै आउनुभएका जनप्रतिनिधि र कर्मचारीको पिसिआर टेष्ट गर्ने पनि बैठकले निर्णय गरेको छ ।

 

नगरपालिका प्रमु्ख सुरेश खनालको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय कार्यालयबाट जारी निषेधाज्ञा आदेशलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्थानीय राजनितिक दल, सामाजिक संघ संस्थामार्फत सहयोगको लागि सर्वसाधारणमा अपिल गर्न लगाउने निर्णय समेत गरेको छ ।

यसैबीच निजगढ नगरपालिकामा कार्यरत एक कर्मचारीमा सक्रमण पुष्टि भएपछि निजगढ नगरपालिका अन्तरगतको प्राविधिक शाखा शिल गरेर कर्मचारीलाई होम क्वारेन्टाइनमा पठाइएको छ । कार्यलयमा अत्यावश्क बाहेक अन्य सेवा बिहिबारबाट बन्द गरिएको छ । जिल्लाको जितपुर घर भएका प्राविधिक फाँटका ती कर्मचारीमा पनि बुधबार नै कोरोना पोजेटिभ देखिएको हो । उनको अघिल्लो साता जितपुरसिमरामा स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । उनको अवस्था पनि सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख लामाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here