कृपा संवाददाता
हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकाले आफ्ना किसानलाई धानको विउ अनुदान दिने भएको छ । केही किसानलाई धानको मुल विउ निशुल्क उपलब्ध गराउने भएको छ भने केही किसानलाई ७५ प्रतिशत अनुदानमा विउ उपलब्ध गराउन लागेको हो । किसानलाई अनुदानको रुपमा वितरण गर्नकालागि १५ टन धानको विउ खरिद गरिसकिएको र अव वितरणको तयारी भएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले करिव दुई महिना देखि गरेको लकडाउनका कारण समस्यामा परेका किसानलाई निशुल्क रुपमा विउ बितरण गरेर राहत दिन लागेको अध्यक्ष उप्रेतीले वताउनुभयो । गाउँपालिकाले सहकारी मार्फत निशुल्क र ७५ प्रतिशत अनुदानमा धानको विउ वितरण गर्न लागेको हो ।
गाउँपालिकाले सहकारीलाई एकमुष्ठ रुपमा दिने र सहकारीले किसानको तथ्याङक राखेर वितरण गर्न लागेको छ । असारमा धान रोप्नका लागि किसानले विउ राख्ने समय भएको छ । यही वेलामा धानको विउ वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । अनुदानको विउ ३ सय जना जती किसानलाई वितरणको तयारी छ ।
यसैगरी मकवानपुरको वकैयाँ गाउँपालिकाले किसानलाई हरेक वर्ष विउमा अनुदान दिने गरेको छ । किसानलाई आवस्यक परेको समयमा ३० प्रतिशत अनुदानमा धानको विउ वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले वताउनुभयो ।