निजगढ,निजगढ नगरपालिकाको सुकेपोखरी ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सुरु गरिको अभियानलाई स्थानीयले अहिले पनि जारी राखेका छन । निजगढ नगरपालिका वडा नम्बर १ कासमाजसेवी सर्जु थापाले २ महिनाअघिबाट सुरु गर्नुभएको पोखरी सौन्दर्यकरण अभियानमा यतिबेला अन्य स्थानीय युवाहरुले पनि साथ दिन थालेका छन ।
अभियानअन्तरगत स्थानीयले प्रत्येक शनिवार बिहान भेला भएर पोखरीमा रहेको फोहोर र वरिपरिको झाडी सरसफाइ गर्ने गरेकाछन । ताल सौन्दर्यकरण अभियान अन्तर्गत पोखरीको डिलमा वृक्षारोपण पनि गरिएको छ ।
फोहोर र दुर्गन्ध बढेर ताल कुरुप बन्दै गएपछि आफूले सरसफाइ थालेको अभियान्ता थापाले बताउनुभयो । तालको संरक्षण गरेर सुन्दर पार्न सकिए हेर्न आउने पर्यटकहरु पनि बढने उहाँले बताउनुभयो । अभियान्ता थापाले पर्यटकीय शंभावना रहेको तालको विकासमा स्थानीय तहले ध्यान दिनुपर्ने बताउनुभयो । ‘तालको संरक्षणमा स्थानीय निकायले सहयोग गर्नुपर्छ, उहाँले भन्नु्भयो, यदि कुनै निकायले सहयोग नगरे आफ्नै पहलमा भए पनि तालको संरक्षणमा लागिरहन्छौं ।’
उहाँले तालमा घुम्न आउने पर्यटकहरुको सुविधाको लागि आफ्नै खर्चमा खानेपानीको धारा र ट्रस निर्माण गर्ने पनि जानकारी दिनुभयो ।
त्यसैगरी पोखरी सरसफाइमा सरिक हुुदैआउनुभएका निजगढ ७ का नविन लम्सालले पोखरीलाई अझै फराकिलो पारेर पर्यटनमैत्री पूर्वाधार निर्माण गर्नसके आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्न सकिने बताउनुभयो । उहाँले पोखरीमा डुङ्गा बिहारको शंभावना पनि भएको सुनाउनुभयो ।
निजगढस्थित पूर्वपश्चिम राजमार्गबाट ४ किमी उत्तरमा सिगौल जाने पक्की सडकको किनारामा पर्ने र करिव १५ बिगाहा क्षेत्रमा फैलिएको सो पोखरीमा पर्याप्त पर्यटकीय शंभावना हुदाँहुदै पनि संरक्षण र प्रचार प्रशारको अभावमा ओझेलमा पर्दै आएको छ ।