वीरगन्ज,वीरगन्जमा मधेश विश्वविद्यालय स्थापना भएको छ । बुधबार मधेश प्रदेश सरकारको अगुवाइमा वीरगन्जमा भव्य कार्यक्रमको आयोजना गरेर मधेश विश्वविद्यालय स्थापना गरिएको हो ।
विश्वविद्यालयको उपकुलपतिमा वीरगन्ज पब्लिक क्याम्पसका सञ्चालक प्राध्यापक डाक्टर दिपक शाक्यलाई नियुक्त गरिएको छ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले बुधवार विश्वविद्यालयको उद्धाटन गर्नुभयो ।
मधेशमा उच्च शिक्षाको विकासका लागि मधेश विश्वविद्यालय कोशेढुंगा सावित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘वीरगन्जमा पहिलेदेखि नै विश्वविद्यालय स्थापनाका लागि प्रयास हुँदै आएको थियो । तर सरकारले स्वीकृति नदिंदा सार्थकता पाउन सकेको थिएन । मधेश सरकारले त्यो सपना पूरा गरिदियो ।’
विश्वविद्यालयको कार्यालय वीरगन्जस्थित नेशनल ट्रेडिङको भवनमा स्थापना भइसकेको छ । पर्सा जिल्लामा १०० बिघा जमिन खोजेर विश्वविद्यालयको थप संरचनाहरू बनाउने तयारी छ ।
स्थापना समारोहमा मुख्यमंत्री मोहम्मद लालबाबु राउत, वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंहलगायत सहभागी थिए ।