मनोज शाह

जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर बजारमा लाग्ने राँङ्गा भैंसीको हाट बजारको रौनक घट्दै गएको छ ।बजारको रौनक घटदै गएपछि कारोबारमा पनि कमी आउन थालेको छ । नेपालको सबैभन्दा पुरानो राङ्गा भैंसी बजारको रुपमा चिनिने यो बजारको ठेक्का अहिले गिर्दो अवस्थामा छ ।०६४ सालसम्म साविक भवानीपुरजीतपुर गाविसले ४८ लाखमा बजारको टेन्डर लागाउने गरेको भएपनि अहिले बजारमा कारोबार घटन थालेपछि ठेक्का पनि रकम बढन सकेको छैन ।नगरपालिकाको बेवास्ताले पनि बजारको विकास हुन नसकेको स्थानीय श्रीराम साहले बताउनुभयो । जीतपुरको पहिचानको रुपमा रहेको यो बजार अहिले विकासको दृष्टिले सबैभन्दा पछाडि परेको उहाँको भनाइ छ ।बजारमा देशका विभिन्न प्रदेशका व्यापारी र कृषिकहरु आएर भैसी किन्ने गरेका छन । विगत लामो समयदेखि भैसी खरिद÷बिक्री गर्दै आउनुभएको बैकुण्ठ थापाले गाविसको पालामा भन्दा अहिले बजारको दुराबस्था बढेको बताउनुभयो । उहाँले गाविसको पालामा सुविधा र अहिले असुविधा बढेको बताउनुभयो ।व्यापारी बैकुण्ठ थापाकाअनुसार गाविसले राङ्गा भैंसी राख्ने ठाउँको व्यवस्थासहित बजार क्षेत्रमा कम्पाउण्ड वाल, शौचलाय, बिजुली बति, व्यापारी र गोठालाहरु बस्ने स्टलहरुको व्यवस्था गरेको थियो । उहाँले आफूले २०४० सालदेखि जीतपुरबाट राङ्गा भैंसी किनमेल गर्ने गरेको सुनाउनुभयो ।अर्का व्यापारी एकवाल मियाले पनि व्यापारीहरुको लागि उपमहानगरपालिकाले कुनै पनि सुविधा नदिएको गुनासो गर्नुभयो । बजार व्यवस्थापनको लागि उपमहानगरपालिका कार्यालयमा पटकपटक आग्रह गर्दा पनि सुधारको लागि चासो नदेखाएको उहाँको भनाइ छ । जीतपुरमा हरेक हप्ताको सोमबार र शुक्रबार पशु चौपाय बजार लाग्दै आएको छ ।पहिलेको तुलनामा बजारमा कारोबार घटेको अर्का स्थानीय दिनेश कलवारले बताउनुभयो । ‘पहिले पहिले बिक्रीको लागि हजारौंको संख्यामा राङ्गा भैंसी ल्याइन्थे, उहाँले भन्नुभयो, तर अहिले एउटा बजारमा मुस्किलले १ सय वटा राङ्गा भैसी पनि आउदैनन ।’ उहाँले पनि बजार व्यवस्थापन र विस्तारको लागि नगरपालिकाले चासो नदेखाएकोले लोप हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्नुभयो ।


















