गोकुल घोरसाइने

पिप्राढी,देवताल गाउँपालिका वडा नम्बर ३ कटहरियाका ७५ वर्षिय ननु पासवानले आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेललाई भोट दिने मन बनाउनुभएको छ । एमालेले गरेको चुनाव प्रचारको घरदैलोमा कटहरिया टोलमा भेटुनु भएका पासवानले यसपटकको निर्वाचनमा पौडेललाई नै सहयोग गर्ने निर्णय गरेको सुनाउनुभयो । गाउँका पुराना कार्यकर्ता मध्ये एक पासवान पछिल्लो समय लोसपमा सक्रिय हुनुहुन्थ्यो । उम्मेदवार पौडेलले घरमै पुगेर मत मागेपछि पासवानको मन फेरिएको हो ।‘पहिले पहिलेको चुनावमा पनि सहयोग गर्दै आएका थियौं, पासवानले भन्नुभयो, तर निर्वाचन क्षेत्र परिवर्तन गरेर पौडेल अन्यत्रै गएपछि हामी पनि अर्कै पार्टीमा लाग्यौंं, फेरि उम्मेदवार बनेर आउनुभएको छ, अब पौडेलेलाई नै भोट हालिन्छं ।’ उहाँले पौडेल जिल्लामा रहेको अन्य नेताभन्दा पौडेल इमान्दार, स्वच्छ छविको र आफूलाई मन पर्ने नेता भएको बताउनुभयो ।०४८, ०५१ ०५४ सालको संसदीय निर्वाचनमा क्षेत्र नम्बर ३ बाट चुनाव लड्दा पौडेललाई जिताउन गाउँमा सक्रिय भएर लाग्नुभएका पासवानले पनि पौडेलले क्षेत्र परिवर्तन गरेसंगै पार्टी परिवर्तन गर्नुभएको थियो । उपनिर्वाचनमा यो क्षेत्रबाट लोसपाले उम्मेदवार खडा गरेको छैन ।पौडेलको उम्मेदवारीसंगै देवताल र सुवर्ण गाउँपालिकामा एमालेको पक्षमा चुनावी माहोल बनेको हो । ती दुबै पालिकामा एमालेबाट अलग्गिएर अन्यत्र लागेका अधिकांश पुराना कार्यकर्ताहरु पार्टीमै फर्किएका छन । सर्वसाधारण मतदातामा पनि उत्साहा बढेको देखिएको छ ।साविकको पिप्राढी, बडकीफुलबरिया, दक्षिण झिटकैया र पिपरपाती जब्दी गाविस हाल देवताल गाउँपालिका त्यतिबेला ३ नम्बरमा रहेको र अहिले सुवर्ण गाउँपालिकामा पर्ने साविक मझरिया, हर्दिया र सनफुलवा गाविसहरुमा पनि पौडेलको पक्षमा जनलहर देखिएको हो । ०४८, ०५१ र ०५४ सालको आमनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर ३ मा रहेको उक्त क्षेत्रबाट पौडेल ३ पटकसम्म प्रतिनिधि सभा सदस्यमा चुनाव लडनुभएको थियो । पौडेलले ०५१ मा संसदमा निर्वाचित हुनुभएको थियो भने २ वटा चुनावमा नेपाली कांग्रेशका ऋषिकेश गौतमसंग झिनो मतान्तरमा पराजय बेहोर्नु परेको थियो । संविधान सभाको निर्वाचनमा भने उहाँ क्षेत्र नम्बर ६ मा चुनाव लडेर विजयी बन्नुभयो । संसदीय निर्वाचनमा पौडेलले दुबै पालिकाबाट लोकप्रिय मत प्राप्त गर्नुभएको थियो । ०५४ सालको स्थानीय तहको निर्वाचनमा पनि उक्त क्षत्रेका सबै पालिकामा एमालेका उम्मेदवारहरु नै विजयी बनेका थिए । पछिल्लो दुई वटा संसदीय निर्वाचनमा भने पौडेलले पार्टीको टिकट पाउनुभएन ।भारतीय सीमा क्षेत्रमा पर्ने देवताल र सुवर्ण क्षेत्र नम्बर २ मा गाँभिएपछि त्यहाँ एमाले थप कमजोर बन्न पुगेको हो । अघिल्लो २ वटा संसदीय निर्वाचनमा त एमालेले उक्त क्षेत्रबाट आफ्नो उम्मेदवार नै खडा गरेन । ०७४ मा एमालेले नेकपा माओवादी केन्द्रसंग गठबन्धन गरेर शिवचन्द्र कुशवाह र ०७९ मा जसपाका रामसहायप्रसाद यादवलाई सघाएको थियो । कुशवाहा उपनिर्वाचनमा जनमत पार्टींबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । रामसहाय उपराष्ट्रपती बनेपछि अहिले जसपा अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा हुनुहुन्छ ।गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा देवताल र सुवर्णमा एमाले उम्मेदवारले झिनो मत पाएका थिए भने सुवर्णको वडा नम्बर ७ मा ४ जना वडा सदस्य बाहेक पालिकामा एकजना वडा अध्यक्ष पनि जितेको छैन ।गत आमनिर्वाचन र स्थानीय तहको निर्वाचनमा पाएको मतको आधारमा कमजोर देखिए पनि क्षेत्र नम्बर २ मा यसपटकले एमाले जित्ने देवताल घर भएका एमाले मधेस प्रदेश कमिटी सदस्य कौशलकिशोर सिंहको दाबी छ । ‘एमालेले पौडेललाई उम्मेदवार बनाएको खबर सुन्ने बित्तिकै सर्वसाधारण मतदातामा उत्साहा छाएको छ, सिंहले भन्नुभयो, यो चुनावमा सुवर्ण र देवतालबाट एमालेले अन्य दलका उम्मेदवारले भन्दा अधिक मत प्राप्त गर्नेछ ।’ उहाँले कमजोर भनिएको पालिकामा पनि अवस्था सुदृढ बनेपछि अब एमालेलाई कसैले पनि हराउन नसक्ने बताउनुभयो ।उम्मेदवार पौडेलले पनि दक्षिणी भेगका पालिकामा एमालेको पक्षमा देखिएको जनलहरले आफू धेरै उत्साही बनेको बताउनुभएको छ । उहाँले दक्षिणको पचरौता नगरपालिका र सुवर्ण तथा देवतालबाट पहिलो भोट पाउने आकलन गर्नुभएको छ ।‘पचरौता नगरपालिकाबाट ४५ प्रतिशत मत प्राप्त हुन्छ, उहाँले भन्नुभयो, सुवर्ण र देवतालमा पनि अवस्था दिनप्रतिदिन सुदृढ हुदैछ ।’ पौडेलले उत्तरी भेगको कोल्हबी नगरपालिकाको वडा नम्बर ८, करैयामाई गाउँपालिका र महागढीमाई नगरपालिकामा एमालेको अवस्था पहिलेदेखि नै मजबुद रहेको र दक्षिणमा पनि अवस्था फेरिएपनि जित निश्चित बनेको बताउनुभयो । आफू जहिले पनि क्षेत्रका जनताको सुखदुखमा संगै रहेकोले यसपालीको चुनावमा जनताले पनि आफूलाई साथ र सहयोग दिने उहाँले बताउनुभयो ।निर्वाचन परिणाम आफ्नो पार्न एमालेले दक्षिणी भेगमा प्रचार कार्यलाई पनि तीव्र पार्दै आएको छ । एमालेले पालिका र वडा स्तरीय कार्यकर्ता भेला, कोण सभा र चुनावी घरदैलो कार्यक्रमलाई तीव्र रुपमा अघि बढाएको छ ।


















