वीरगञ्ज,वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रमा अनुमति विना सञ्चालित ५ वटा निजी विद्यालयमा मंगलवार सिलबन्दी गरेको छ ।महानगरपालिकाको शिक्षा समितिका अनुगमन समितिका संयोजक ईश्वरचन्द्र यादव नेतृत्वको टोलीले अनुमति बेगर सञ्चालित ५ वटा निजी विद्यालयमा सिलबन्दी गरेको हो ।

वीरगञ्ज महानगरपालिका– १२ मुर्ली बगैंचामा निनोस वीरगञ्जको नामबाट सञ्चालित दिल्ली पब्लिक स्कुलको पूर्वप्राथमिक तह (मन्टेश्वरी) मा महानगरले सिलबन्दी गरेको संयोजक यादवले बताउनुभयो । यस्तै वीरगञ्ज महानगरपालिका–२६ सुगौलीमा २०५७ सालदेखि सञ्चालित सिटिजन पब्लिक स्कुल र २०७५ सालदेखि सञ्चालित एएस नलेज एकेडेमीमा पनि मंगलवार सिलबन्दी गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै वीरगञ्ज महानगरपालिका– १८ भवानीपुरमा सञ्चालित सुरज एकेडेमी पनि अनुमति विना नै सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको उहाँले बताउनुभयो । भवानीपुरमै अनुमतिभन्दा बढी तहको कक्षा सञ्चालन गरेको बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरिएको यादवले जानकारी गराउनुभयो ।अनुगमनमा खटिएको टोलीमा संयोजक यादवसँगै महानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत आनन्द लामिछाने, मेयर राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतको पनि सहभागिता थियो ।

Leave a Reply