वीरगञ्ज,वीरगञ्जमा रहेको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट ११ कार्टुन सुकमेल चोरी भएको छ ।
काठमाण्डौमा रहेको पशुपति एक्जिम प्रालिले दक्षिण अमेरिकाको ग्वाटेमालाबाट खरिद गरी ल्याएको २० फुटे आठ वटा कन्टेनर मध्ये दुई वटा कन्टेनरको सिल टुटाएर ११ कार्टुन सुकमेल चोरी भएको हो ।गएको अक्टोबर १९ तारिखमा दुबई हुँदै विशाखापट्टनम बन्दरगाह भएर एक्सप्रेस–वे कन्टेन कम्पनीका आठ वटा कन्टेनरमा खरिद गरी ल्याएको दुई सय कार्टुन सुकमेलमध्ये कन्टेनर नम्बर ईएससीयू २००२२०६ र ईएससीयू २००२२४८ को सिल हटाएर ११ कार्टुन सुकमेल चोरी भएको आयातकर्ता कम्पनीका वीरगञ्जमा रहेका प्रतिनिधि मधु बरालले जानकारी दिनुभयो । उहाँका अनुसार चोरी भएको ११ कार्टुनमा प्रतिकार्टुन ४० किलोका दरले चार सय ४० किलो सुकमेल रहेको थियो ।चोरी भएको सुकमेलको मूल्य अन्दाजी १३ लाख ४२ हजार रुपैयाँ रहेको उहाँको भनाइ थियो । सुक्खा बन्दरगाह भन्सार सञ्चालन गर्ने प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिका कामदारकै मिलोमतोमा सुकमेल चोरी भएकाले छानबिन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको प्रतिनिधि बरालले जानकारी गराउनुभयो ।कार्यालयका प्रमुख रामप्रसाद मैनालीले कन्टेनरको सुकमेल चोरी घटनाबारे अनुसन्धान भइरहेको र पछि थप विवरण उपलब्ध गराउने बताउनुभयो ।

Leave a Reply