गोकुल घोरसाइने
चकरी,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरीको मुलखोला तीनदोभानस्थित खाली जमिनमा चारैतिरबाट सिमेन्टको पिलर गाडेर काँढेतारले घेरिएको थियो । वनशक्ति सामुदायिक वन क्षेत्रभित्र पर्ने जंगलकोबीचमा नदी उकासले बनेको खाली जमिनमा यत्रो रकम खर्च गरेर कसले र किन यसरी बार बारेकोे होला स्थानीय उत्तमबहादुर लोप्चनको जिज्ञासा शान्त हुन नपाउदै तीनदोभान पुगेका वन कर्मचारी, सामुदायिक वन समुहका पदाधिकारी र जनप्रतिनिधिहरुले काँढेतार पन्छाउदै भित्र पसेर धमाधम रुखका बिरुवा रोप्न शुरु गरे ।
प्रदेश हरित अभियान अन्तर्गत प्रदेश नम्बर २ मा सोमबारबाट सुरु भएको वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालय सिमराले नदी उकास जमिनमा काँढेतारले घेरेर वृक्षारोपण गरेको हो । ‘संरक्षणको लागि बिरुवा रोप्नुअघि नै घेराबारा लगाइएको छ, डिभिजन वन कार्यालय सिमराका प्रमुख मन्जुर अहमदले भन्नुभयो, बिरुवा हुर्काउ संरक्षण कार्यलाई पनि संगसंगै अगाडि बढाउनुपर्छ ।’ बिगतका वर्षहरुमा बिरुवा संरक्षणमा ध्यान दिन नसक्दा वृक्षारोपण प्रभावकारी हुन नसकेको बताउदै यसरी रोपिएका अधिकांश बिरुवा हुर्किन पनि उहाँले बताउनुभयो । ‘हामीमाथि धेरै मानिसले आरोप लगाउने गरेका छन, वन कर्मचारीहरु बिरुवा रोप्छन तर हुर्काउन चासो दिदैनन, उहाँले भन्नुभयो, तिनदोभानमा संरक्षणसहित थालिएको वृक्षारोपणले आरोप लगाउनेहरुलाई पनि जवाफ दिएको छ ।’ वन प्रमुख अहमदकाअनुसार वन कार्यालयले उक्त क्षेत्रको १० हेक्टर जमिनमा ८५६ वटा सिमेन्टका पोल गाढेर काँढेतारबार गरेको र विभिन्न प्रजातिका १६ हजार रुखका बिरुवा रोप्ने योजना बनाइएको छ ।
वृक्षारोपण कार्यक्रमका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. २ का सहायक वन अधिकृत सुजितकुमार झा विशिष्ठ अतिथिको रुपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा बोल्दै झाले वनजंगल पातलिदै जाँदा यसको असर वातावरणमा पर्ने बताउदै खाली र नदी उकास जमिनमा वृक्षारोपण गरेर हराभरा पार्नुपर्ने बताउनुभयो । ‘संरक्षणको व्यवस्था गरेर वृक्षारोपण गर्दा बिरुवा हुर्कने दर बढी हुन्छ, उहाँले भन्नुभयो, यसबाट खर्च खेर नजाने मात्रै होइन, वन जंगलको विकासमा पनि सहयोग पुग्छ ।’ उहाँले प्रदेश सरकारले संरक्षणको प्रत्याभूति गरेर मात्रै वृक्षारोपण गर्ने निति अघि सारेको पनि सुनाउनुभयो ।
एकसातासम्म चल्ने हरित अभियान अन्तर्गत प्रदेशका ८ जिल्लाका डिभिजन वन कार्यालयहरुको सहभागितामा ११ हजार हेक्टर खाली जमीन र नदी उकास क्षेत्रमा १४ लाख भन्दा बढी विरुवा रोप्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. २ का कानुन अधिकृत बालकृष्ण मिश्रले प्रदेश २ को पहिचानको रुपमा प्रदेश सरकारले वृक्षारोपण अभियानलाई संचालन गरेको बताउदै खाली रहेका जमीनमा स्थानीय तहसंग समन्वय गरेर वृक्षारोपण र संरक्षण कार्यलाई एकिकृत रुपमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।
वनशक्ति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लालबहादुर स्याङ्गतानको सभा अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा वडा अध्यक्ष मनिक थिङ्गले पहिले नै घेराबारा गरेर रोपिएकोले वृक्षारोपण क्षेत्रको संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन सहायक वन अधिकृत सत्यदेव यादवले गर्नुभएको थियो ।
यसैबीच राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर वीरगन्ज महानगरपालिका वडा नम्बर २५ श्रीसिया स्थित एकीकृत जाच चौकी (आईसिपी)को मुख्य ६ लेनको सडक बिच खाली ठाउमा नेपाली कांग्रेसबाट प्रदेश नम्बर २ मा नवनियुक्त उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गर्नुभएको छ । उहाँले वीरगञ्ज महा नगरपालिका अलौंमा रहेको भन्सारमा रुख रोपेर अभियानको शुभारम्भ गर्नुभएको हो । वृक्षारोपण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, प्रहरी उपरिक्षक वेल बहादुर पाण्डे, नेपाली कांग्रेसका नेता रामरुप कुर्मी, सवैया साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष लखनलाल साह कानु, साझेदारी वन महासंघका जिल्ला अध्यक्ष श्याम पटेल, नेका नेता सन्जु छतकुली लगायतको सहभागिता रहेको थियो । प्रदेश २ व्यापी वृक्षारोपण अभियान कार्यक्रम अन्तरगत पहिलो दिन श्रीसिया एकिकृत चेकजाँच चौकी ( आईसिपी) को मुख्य सडकको खाली ठाउँमा ट्रि गार्ड सहित विभिन्न परिजातका २५१ वृक्ष रोपेर अभियानको शुरुवात गरिएको वन अधिकृत रेयाज अहमद अंसारीले बताउनु भयो ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर प्रदेश सरकारले यो अभियान सुरु गरेको हो । अभियानको एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गर्नुभएको थियो । उहाँले धनुषाको मिथिला नगरपालिका–४ पुष्पलपुरमा बर र पिपलको रुख रोपेर अभियानको शुभारम्भ गर्नुभयो । उक्त अभियान अन्तर्गत सात दिनसम्म प्रदेशका सबै जिल्लामा वृक्षारोपण गरिनेछ । आठवटै जिल्लाको कुल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ वटा विरुवा रोप्ने कार्यक्रम रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।