काठमाडौं,सुडानमा सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ चलिरहेको छ ।अर्धसैनिक बल यापिड सपोर्ट फोर्स (आरएसएफ)ले राष्ट्रपति भवन, सेना प्रमुखको निवास र तीन वटा विमानस्थल नियन्त्रणमा लिएको दाबी गरेको छ ।सेनाले भने त्यसलाई अस्वीकार गरेको छ र आफ्नो वायुसेनाले आरएसएफको शिविरहरुमा आक्रमण गरिरहेको छ । सेनाका प्रवक्ता ब्रिगेडियर जनरल नबिल अब्दुल्लाहलाई उधृत गर्दै समाचार एजेन्सी एएफपीले भनेको छ, ‘¥यापिड सपोर्ट फोर्सका लडाकूहरुले खार्तुम र आसपासका क्षेत्रका सैन्य शिविरमा आक्रमण गरेका छन् ।’उनले अगाडि भनेका छन्, ‘लडाइँ जारी छ र सेनाले देशको सुरक्षाका लागि आफ्नो कर्तव्य पालना गरिरहेको छ ।’समाचार एजेन्सी रोयटर्सले प्रत्यक्षदर्शीलाई उधृत गर्दै बताएअनुसार उत्तरी शहर मेरोवेमा पनि गोलाबारी भएको छ । अल अरबिया टिभीले पनि त्यहाँ रहेको एक सैन्य शिविरबाट धुँवा आएको तस्वीर प्रसारण गरेको छ ।अक्टोबर २०२१ को बिद्रोहपछि सुडानको राज्य सञ्चालन सैनिक जनरलहरुको सार्वभौम परिषद्ले गर्दै आएको छ ।परिषद्को प्रमुख सेनाको जनरल अब्देल फतह अल बुरहान छन् भने आरएसएफ परिषद्का उपाध्यक्ष जनरल मोहम्मद हमदान डगलोको अधीनमा छ ।नागरिक नेतृत्वको सरकारको प्रस्तावित कार्यले आरएसएफलाई अब सेनामा समायोजन गर्ने समय तालिका बनाएको छ । सेनाले २ वर्षभित्र समायोजन गरिसक्न चाहेको छ, तर आरएसएफले यो समयलाई १० वर्षसम्म राख्न चाहेको छ ।यही विवादका क्रममा आरएसएफले मेरोवेमा सैन्य आधार शिविर नजिकै आफ्नो फौज तैनाथ गरेको थियो ।प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने विवाद सुल्झाउन आफ्नो सेकेण्ड इन कमाण्डसँग सम्वाद गर्न आफू तयार रहेको जनरल बुरहानले बताएको बीबीसीले जनाएको छ ।

















