सार्वजनिक स्थानमा पुगेका व्यक्तिले आफ्नो अनुकुल गर्न नमानेपछि उसका बिरुद्धमा विभिन्न तानाबुना बुन्ने चलन हाम्रो देशमा छ । यतिबेला भने प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेमाथि त्यस्तै तानाबुना बुनिदै छ । त्यसो त सार्वजनिक र देशको महत्वपूर्ण अंगमा पुगेकाहरुले पनि आफ्नो दायित्व बिर्सिएका कारण र पार्टी तथा उसका नेतृत्वप्रति बढी बफदार बनिदिँदा समस्या हुने गरेको छ । यस अघिकी राष्ट्रपति विद्यादेवी भण्डारी पनि विवादमा परिन् । उनी विभिन्न आरोप खेप्न बाध्य भइन् ।अब यो आरोप अहिलेका सभामुखतिर तेर्सिएको छ । सभामुख भनेको निष्पक्ष निकाय हो । यो पदमा रहेका व्यक्तिको भूमिका यसै पनि निष्पक्ष हुनु पर्दछ । सभामुखले पनि आफ्नो पदको ख्याल गर्न आवश्यक छ । पार्टी र पार्टीको नेतृत्वप्रति बफदार बनिदिँदा भने समस्या हुन्छ । अहिलेका सभामुख भनेको एमाले निकटका छन् । एमालेका अध्यक्ष केपी ओलीले बिहीबार पनि सभामुख घिमिेर विरुद्ध संसदमा सत्तारुढ दलहरुको तर्फबाट महाअभियोग प्रस्ताव आउन सक्ने भन्दै दलहरुबीच ठुलै विवादको संकेत गरेका छन । उनले सभामुखको बचाउ पनि गरेका छन् ।सत्तापक्ष भने सभामुख बिरुद्ध खनिएको छ । सत्तापक्षले पनि स्वार्थका आधारमा सभामुखमाथि बिना आधार आरोप लगाउनु हुदैन । राजनीतिक पूर्वाग्राह पनि राख्न हुदैन । यदि सत्तापक्षले नियतबस नै सभामुखमाथि बिभिन्न आरोप लगाएको भए त्यो एकदमै गलत हो र सभामुख पनि निष्पक्ष ढंगले बस्न आवश्यक छ ।


















