सेढवा,नयाँ वर्ष २०२२ मनाउन पर्साको ठोरी पुगेका एक युवकको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ भने ३ जना गम्भीर रुपले घाइते भएका छन् ।

ठोरी गाउँपालिका वडा नम्बर २ स्थित हुलाकी राजमार्गअन्तर्गत पर्ने रामनगरमा विपरित दिशाबाट आइरहेका २ वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर पर्साकै पोखरिया नगरपालिका वडा नम्बर २ निवासी १८ वर्षीय सन्तोष पटेलको मृत्यु भएको छ भने उनीसँग सवार सोही स्थानका २० वर्षीय सरोज पटेल गम्भीर घाइते भएका छन् ।

त्यसैगरी अर्को मोटरसाइकलमा सवार वीरगन्ज महानगरपालिका वडा नम्बर १९ विन्दवासिनी निवासी १७ वर्षीय गन्नी मियाँ हजाम र २८ वर्षीय नूर मोहम्मद हजाम पनि गम्भीर रुपले घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरुको हाल वीरगन्जस्थित नारायणी अस्पतालमा भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताउनुभयो । खनालका अनुसार घाइतेहरुको अवस्था चिन्ताजनक छ ।

नयाँ वर्ष मनाउन ठोरी पुगेका पटेलद्वय सवार ना. ६३ प ७४२६ नम्बर को मोटरसाइकल र विपरित दिशा तर्फबाट आइरहेको हजामद्वय सवार बा २७ प १६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको खनालले जानकारी दिनुभयो ।

पटेलको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् भने अन्यहरुलाई गम्भीर किसिमले चोटपटक लागेको छ ।

घाइतेहरुलाई प्रहरी र स्थानीयहरुको सहयोगमा तत्कालै एम्बुलेन्समा राखेर वीरगन्ज पठाइएको थियो । प्रहरीका अनुसार दुर्घटना कसको गल्तिले भएको भन्ने कुरा अहिलेसम्म खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here