केही भ्रष्ट न्यायधिश र केही न्यायलयका कारण नेपालको न्यायलयमाथि बेला बेलामा गम्भीर रुपमा प्रश्न उठ्ने गर्दछ । तर, नेपालको न्यायलयमा सम्पादन हुने कतिपय न्यायले भने नेपालमा न्याय मरेको छैन र मर्दैन भन्ने नजिर पनि स्थापित गरेको छ । जिल्ला अदालत रौतहटले यही नजिर स्थापित गरेको छ । सत्ता र पहुँचमा रहेका बेला आम नागरिकहरुलाई मान्छे नै नठान्ने एक नरभक्षीलाई अदालतले अपराधी करार गरेको छ । मानिसलाई ईटा भट्टामा हालेर पोल्ने यो भन्दा निकृष्ट कार्य के नै हुन सक्छ र ?
राजनीतिको आडमा अफताब आलम भन्ने व्यक्तिले यो क्रुरता गरेका थिए । उनले यो क्रुरता गरेको भएपनि उनी जोगिदै आएका थिए । राजनीतिक अवरणमा उनले राम्रै फाइदा लिएका थिए । उनी पैसा र पदको दुरुपयोग गर्दै सांसद समेत बनेका थिए । यस्तै अपराधी ब्यक्तिहरु नेपालको सदनमा गएकाले पनि नेपालको संसदले पनि राम्रो काम गर्न नसकेकै हो । समय फेरिएर मात्रै हो, नत्र त कुनै समय त यिनीहरुकै त हालीमुहाली थियो, नेपाली राजनीतिमा ।
यस्ता व्यक्तिहरु अझै पनि नेपाली राजनीतिको कुनै न कुनै क्षेत्रमा छन् । यिनीहरुको खोजबिन गरेर यसरी नै सजायँ दिलाउन आवश्यक छ । कानुन भन्दामाथि कोही छैन भन्ने संदेश रौतहटले दिएको भएपनि अझै पनि यस्ता व्यक्तिहरुलाई खोजेर कानुनको दायरामा ल्याउनु पर्दछ । पीडितलाई न्याय दिलाउनुु पर्दछ । न्याय दिलाउने न्यायमुर्ती त यसै पनि धन्यवादको पात्र हुन् । यस्तो हिम्मत अन्य न्यायमुर्तिहरुले पनि गर्न आवश्यक छ ।
















