बरियारपुर,जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा–२ मा आफ्नो दलको सङ्गठन बलियो नभए पनि जनताको मत प्राप्त गर्ने दाबी गर्नुभएको छ ।बारा निर्वाचन क्षेत्र नं २ मा बैशाख १० गते हुने उपनिर्वाचनको घरदैलो कार्यक्रममा बोल्दै राउतले सङ्गठन बलियो नभए पनि आफ्नो पार्टीप्रति जनताको माया र विश्वास रहेको बताउनुभयो । ‘चुनावमा सङ्गठन बलियो होइन जनताको माया चाहिन्छ, सद्भाव चाहिन्छ, न्यायको पक्षमा हुनुपर्छ, सङ्गठन भनेर मासु र भात खुवाएर भोट खरिद गर्ने होइन,’ डा. राउतले भन्नुभयो ‘जसपाको मासु भात खाएपनि जनताले भोट हामीलाई नै दिन्छन ।’बारा २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई जिताउन जनता आफैँ ग्राउण्डमा उत्रिएको राउतले बताउनुभयो । ‘सप्तरी २ मा दोब्बर मतान्तरले पराजित भएका उपेन्द्र यादवलाई बारा–२ मा त्योभन्दा पनि बढी मतले हामी पराजित गर्छौ,’ उहाँले भन्नुभयो, ‘हाम्रो चुनावी एजेन्डा भनेको जनतालाई शिक्षा, स्वास्थ्य रोजगारीमा उन्नति गर्ने र किसान आन्दोलनका मुद्दाहरू सम्बोधन गर्ने हो ।’अध्यक्ष राउतले निर्वाचन अवधिभर आफू बारा–२ मै बस्ने बताउनुभएको छ । उहाँले बारा जिल्लावासी र यहाँका नेता कार्यकर्ताको राजनीतिक अधिकार खोस्ने षडयन्त्र भएको पनि बताउनुभएको छ ।बारा–२ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि हुन लागेको उपनिर्वाचनमा जनता सामाजवादी पार्टीबाट अध्यक्ष यादव लड्दै हुनुहुन्छ । यादवसँगै नेकपा एमालेले जिल्लामा लोकप्रिय नेता पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई मैदानमा उतारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वडीआइजी रमेश खरेललाई टिकट दिएको छ ।

Leave a Reply