निजगढ,राष्ट्रिय भूमि आयोगको टोलीले आइतवार निजगढ नगरपालिकाका विभिन्न वडाहरुमा स्थलगत अनुगमन गरेको छ ।निजगढ नगरपालिकामा हालसम्म सुकुम्बासी समस्या समाधानका लागि भएका कामहरूको निरीक्षण गर्ने क्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडियो) नवराज सापकोटा, निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौला, आयोगका विज्ञ सदस्य केदारप्रसाद गौतमसहितको टोलीले यस क्षेत्रको स्थलगत अनुगमन गरेको हो ।टोलीले निजगढ नगरपालिका वडा नम्बर १, ३, ४, ५, ६ र ७ नम्बर वडाहरुमा अनुगमन गरेको हो । अनुगमनमा निजगढ नगरपालिकाका अधिकृत रविन घिमिरे, कार्यपालिका सदस्य फुलमाया लामा, नेपाली कांग्रेस निजगढ नगर समिति सभापती नवराज तिमल्सिना, नेकपा (माओवादी) पार्टीका नगर अध्यक्ष रविराज दंगाल, राष्ट्रिय स्वन्तत्र पार्टीका रामहरी खरेल, राष्ट्रिय प्रजातन्त्रबाट अध्यक्ष खडगप्रसाद उप्रेती, नेकपा समाजवादी पार्टीका अध्यक्ष भिमसेन सापकोटालगायत स्थानीय सञ्चारकर्मीहरुको पनि सहभागिता रहेको थियो । निजगढ नगरपालिकाले २०७७ कार्तिक महिनादेखि भूमि सम्बन्धि समस्या समाधानका लागि काम गर्दै आएको छ । पालिकाले २०७८ साल पुस २४ गते सम्झौता गरेका कामलाई जारी राखेको हो । निजगढ नगरपालिकाले हाल बस्तीस्तरमा पुगेर जग्गा नापी कार्यलाई जारी राखेको छ । जग्गा नापी गर्न कार्यालयलले टोली खटाएको छ । पहिलो चरणमा नगरपालिकाले वडा नम्बर १ मा जग्गा नापीको काम पुरा गरी सकेको छ भने वडा नम्बर १३ मा नापीको काम अन्तिम चरणमा पुगेको छ । परामर्सदाता कम्पनीको तर्फबाट भएको नापी कार्यलाई अवश्यक परे नगरपालिकाले पुनः नापी गर्नसक्ने नगरप्रमुख सुरथ पुरीले जानकारी दिनुभएको छ ।यसैबीच सिंगौलबाट हाम्रा सम्वादतादा बसन्त लामाले पठाएको समाचार अनुसार निजगढ नगरपालिका वडा नम्बर ३ ले जग्गाको निसा (कागज) स्थानीयलाई वितरण गरेको छ ।वडा कार्यालयले दलित, सुकुम्बासी र वर्षौदेखि अव्यवस्थित रुपमा बसोबास गर्दै आइरहेका स्थानीयलाई निसा वितरण गरेको हो ।सिंगौल वडा नम्बर ३ मा रहेका ३९६ घर परिवार दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निसा वितरण गर्न सुरु गरिएको वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिनाले बताउनुभएको छ ।वर्षौदेखि बसोबास गर्दै आएको भएपनि स्थानीयसंग भोगचलको कुनै प्रमाण नहुँदा उनीहरुले समस्या झेल्दै आइरहेका थिए । निसा हात पारेसंगै स्थानीयमा खुसी छाएको छ ।निसा वितरण कार्यक्रममा पूर्ववडा अध्यक्ष जीतबहादुर तामाङ्ग, कार्यपालिका सदस्य मानबहादुर ड़ासेली, राजनीतिक दलका प्रतिनिधि र स्थानीय समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।


















