वीरगञ्ज,नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ‘लिची बगैँचा’ घुस प्रकरणको अडिओमा बिचौलियाको भूमिकामा देखिएका सुजन लामालाई निलम्बन गरेको छ ।लामामाथि कारबाहीको निर्णय गण्डकी प्रदेश कमिटीको शनीवार र आइतवार बसेको बैठकले गरेको हो । एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनन्जय दवाडीका अनुसार, घुस प्रकरणमा मुछिएका लामालाई मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि निलम्बन गरिएको छ । लामा प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य थिए ।
यस प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग लामाले घुसका लागि बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको थियो । सो अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ताले आफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।एमाले प्रदेश कमिटीले यसअघि लामालाई स्पष्टीकरण सोधेको थियो । उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई निलम्बन गरिएको हो । यस्तै, यसै मुद्दामा मुछिएका प्रदेश विभाग सदस्य के गिरीलाई पनि निलम्बन गरिएको छ ।

















