कलैया,नेकपा एमालेले बारा क्षेत्र नंम्बर २ मा पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने भएको छ । बैशाख १० गते हुने उपनिर्वाचनका लागि पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज समेत रहेका पौडेललाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको हो ।एमाले जिल्ला कमिटी बाराले उम्मेदवारका लागि पौडेलसहित राजेश साह र बन्दना सिंहको नाम सिफारिस गरेको थियो । जिल्ला कमिटीको सिफारिसअनुसार एमाले नेतृत्वले पौडेललाई अघि सार्ने निर्णय लिएको हो ।यसअघि शनिवार बसको केन्द्रीय सचिवालय बैठकले तनहुँ १ मा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउँदा बारा २ आइतवार टुंगो लगाउने निर्णय गरेको थियो । सोही अनुसार एमालेले पूर्वमन्त्री पौडललाई उम्मेदवार बनाउने भएको हो ।पूर्वमन्त्री पौडेललाई उम्मेदवार बनाउने निर्णयसंगै बारा २ को निर्वाचन प्रतिस्पर्धात्मक हुने देखिएको छ । बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार बन्न लागेका छन् ।यसैबीच नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा निर्वाचन क्षेत्र नम्बर २ को उपचुनावमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा जसपा अध्यक्ष यादवलाई समर्थन गर्ने निर्णय गरेको पार्टीका सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले २०७९ को चुनावभन्दा पहिला पार्टीको अनुशासनको कारबाहीमा परेका उपचुनाव हुने तीन क्षेत्रका नेताहरूलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय भएको बताउनुभयो । उहाँले २०७९ को चुनाव बेलाको हकमा भने उपचुनावमा नेताहरूले खेलेको भूमिकालाई हेरेर पछि निर्णय लिने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘वैशाख १० गते हुने उपचुनावका लागि तनहुँ क्षेत्र नम्बर १ मा गोविन्द भट्टराई र चितवन २ मा जिल्लाका पूर्वसभापति जितनारायण श्रेष्ठ प्रस्तुत गरिसकेका छौँ । बारामा भने हामीले साझा उम्मेदवार प्रस्तुत गर्ने गरी उपेन्द्र यादवलाई स्वीकार्ने निर्णय गरेका छौँ ।’सहमहामन्त्री पाण्डेले बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई बधाई दिने प्रस्ताव पारित गर्नुका साथै राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको बताउनुभयो । बैठकले अघिल्लो कार्यसम्पादन समितिमा पार्टीको कार्यालय सञ्चालनका लागि प्रस्तुत भएको निर्देशिका र विनियमावली, प्राप्त सुझाव समेट्ने गरी पारित गर्ने निर्णय गरेको छ ।
















