दुष्यन्त चौधरी
कलैया, ०६ मंसिर । बाराको करैयामाई गाउँपालिका–८, बेलाहीमा जारी ‘प्रथम वडा गोल्डकप २०८२’ अन्तर्गत शनिबार सम्पन्न तेस्रो दिनको खेलमा समृद्ध नेपाल युवा क्लब जुअवाले उत्कृष्ट प्रदर्शन गर्दै फ्रेन्डस युवा क्लब भवानिपुरलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेल सुरु भएको १३ औँ मिनेटमै समृद्ध नेपालका सन्देश चौधरीले विपक्षी डिफेन्सलाई छल्दै दिएको प्रहार गोलमा परिणत भएको थियो । खेलको सुरुवाती समयमै आएको गोलले टिमको मनोबल उच्च बनाएको थियो भने समृद्ध नेपालले बाँकी समयमा खेललाई मजबुत डिफेन्स र तीव्र काउन्टर–अट्याकमार्फत नियन्त्रणमा राख्दै अन्तिमसम्म अग्रता जोगाउन सफल रह्यो । भवनिपुरको फ्रेन्डस युवा क्लबले पनि खेलभरी केही उत्कृष्ट आक्रमक प्रयासहरू गरे भनेकामा ती सबै समृद्ध नेपालको गोलपोस्ट पार गर्न असफल भए ।

खेलभरिलाई आक्रामक बनाएको भवनिपुरका खेलाडीहरू धेरैपटक अवसरको खोजीमा थिए, तर जुअवाको गोलरक्षक र डिफेन्स लाइनले उत्कृष्ट तालमेल देखाउँदै क्लिन–सिट सुरक्षित गरे । निर्णायक गोल गर्दै टिमलाई सेमिफाइनलसम्म डोर्याउन विशेष भूमिका खेलेका सन्देश चौधरीलाई ‘म्यान अफ द म्याच’ घोषित गरियो ।

आयोजक समितिका प्रवीण चौधरीका अनुसार आईतबार आयोजक टिमसँग नितान्त अफ नितनपुर भिड्नेछ । बेलाहीमा जारी गोल्डकपले स्थानीय युवामा खेलप्रतिको उत्साह बढाएको छ भने दैनिक रूपमा ठूलो संख्यामा दर्शक उपस्थित हुँदै प्रतियोगितालाई झनै रौनक बनाइरहेका छन् ।



















