नरेश गुप्ता,बरियारपुर,बाराको विश्रामपुर, फेटा, देवताल गाउँपालिका र पर्सा जिल्लाको पर्सागढी नगरपालिकाले करार सेवामा कार्यरत कर्मचारीलाई अवकास दिएको छ ।विश्रामपुर गाउँपालिकाले करार सेवाका सबै कर्मचारीलाई हटाएको छ ।गाउँपालिका कार्यालयले शुक्रबार सूचना जारी गर्दै गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार यसअघि नियुक्त भएका करार सेवामा कार्यरत सम्पूर्ण कर्मचारीलाई साउन १ गतेबाट लागु हुने गरी अवकास दिइएको जनाएको छ ।
विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले जारी गरेको सूचनामा गाउँपालिकाको स्रोतबाट तलव, भत्ता खर्च व्ययभार हुने गरि करार सेवामा कार्यरत सम्पूर्ण कर्मचारीको साउन १ गतेदेखि करार सम्झौता नवीकरण नहुने निर्णय भएकोले कार्यालयमा हाजिर भइ कामकाज नगर्नुहुन् उल्लेख गरिएको छ ।गाउँपालिका कार्यालयसँगै करार सेवामा नियुक्ति लिएर काम गरिरहेका वडा कार्यालय, स्वास्थ्य संस्थाका कर्मचारी, शिक्षक, विद्यालय तथा बालविकासका सहजकर्ताहरुलाई आफ्नो जिम्मा रहेको नगद र जिन्सी सामग्रीको बरबुझारथ गर्न तथा पेश्की बाँकी भएको फर्छयौट गर्न तथा सो बमोजिम नगरेमा नियमानुसार कारबाही गरिने समेत सूचनामा उल्लेख छ ।
सूचनामा नियम विपरित कार्यालयमा जबर्जस्ती हाजिर भएको खण्डमा कार्यालयले तलब भत्ता भुक्तानी नदिने र हाजिर गर्ने÷गराउने व्यक्ति स्वयम् यसको जिम्मेवार हुने पनि बताइएको छ ।त्यसैगरी फेटा गाउँपालिकाले समेत करार सेवाका सम्पुर्ण कर्मचारीहरुको साउन १ गतेदेखि म्याद नथप्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बोर्ड बैडकले करार सेवाका कर्मचारीको म्याद थपसम्बन्धि निर्णय गरेको हो ।गाउँपालिकाले साउन १ गतेदेखि अर्को व्यवस्था नभएसम्म एक महिनाको लागि मात्र कर्मचारीलाई ज्यालादारीमा राख्ने निर्णय गरिएको गापा अध्यक्ष रुस्तम अंसारीले जानकारी दिनुभयो । करार सेवामा नियुक्ति लिएर सेवा गर्दै आएका वडा कार्यालय, स्वास्थ्य संस्थाका कर्मचारी, शिक्षक तथा बाल विकास सहजकर्ताहरुलाई आफ्नो जिम्मामा रहेको नगदी, जन्सी सामग्री बरबुझारथ गर्न तथा बाँकी पेस्की फर्छ्यौट गर्न र सो बमोजिम नगरेमा नियामानुसार कारबाही गरिने समेत सूचनामा उल्लेख छ ।नियम विपरित कार्यालयमा जबर्जस्ती हाजिर भएको खण्डमा कार्यालयले तलब भत्ता भुक्तानी नदिने र हाजिर गर्ने÷गराउने व्यक्ति स्वयम् जिम्मेवार हुने पनि बताइएको छ । त्यस्तै जिल्लाको देवताल गाउँपालिकाले पनि साउन १ गतेदेखि करार सेवामा कार्यरत कर्मचारीहरुलाई सेवामुक्त गर्ने निर्णय गरेको छ ।त्यसैगरी पर्साको पर्सागढी नगरपालिकाले पनि दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई हटाएको छ ।
नगरप्रमुख (मेयर) गोकर्ण पाठकद्वारा शुक्रवार जारी सूचनामा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई हटाइएको जानकारी गराइएको छ । आर्थिक वर्ष २०७९÷८० श्रावण १ गतेदेखि म्याद थपको पत्र प्राप्त नहुँदासम्म कार्यालयमा हाजिर नगर्ने र नगराउने सूचनामार्फत जानकारी गराइएको छ ।दैनिक ज्यालादारीमा कार्यरत ६ जना कर्मचारीलाई हाजिर हुनबाट रोक लगाइएको हो । सुपरभाईजर सुरेन्द्रप्रसाद यादव, हेरालु मृत्यन्ज पाण्डे, सवारी चालकद्वय बिरेन्द्र प्रसाद यादव र प्रेम ठाकुर, कुस्ति प्रशिक्षक रामबाबु यादव र कार्यालय सहयोगी आकासकुमार साह तेलीलाई हाजिर हुन रोक लगाइएको हो । दैनिक ज्यालादारीमा नगरपालिकामा कार्यरत ३१ जना कर्मचारीमध्ये कुनै पनि जिम्मेवारी नभएका ६ जनालाई हाजिर हुन रोक लगाइएको नगर प्रमुख पाठकले जानकारी दिनुभयो । उहाँले कतिपयको काम सन्तोषजनक नगरेको र केही कर्मचारीको कुनैै जिम्मेवारी नभएकोले उनीहरुलाई हटाइएको बताउनुभयो ।तत्कालका लागि कुनै कर्मचारी नराख्ने र नयाँ भवन निर्माण भएपछि जिम्मेवारी र कामको भार अनुसार आवश्यक्ताको आधारमा राख्न सकिने मेयर पाठकको भनाइ छ ।