निजगढ,निजगढ नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । श्री कृष्ण प्रणामी युवा परिषद् निजगढको आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा आँखा शिविर गरिएको हो ।
निजगढ नगरपालिका– ६ सडकटोलमा भएको शिविरमा तीन सय जनाका आँखा परीक्षण भएको थियो । जसमा १९ जनामा मोतियाबिन्दु भेटिएको छ । शिविरमा दश महिनाको बालक श्रीजल बन्जारादेखि एक सय एक वर्षिय ज्येष्ठ नागरिक कृष्णबहादुर घलानसम्मले आँखा परीक्षण गराएर लाभ लिएका छन् ।
मोतिया बिन्दुको समस्या देखिएका बिरामीको हेटौंडा सामुदायिक अस्पातालमा निःशुल्क शल्यक्रिया गरिने श्रीकृष्ण प्रणामी युवा परिषद् निजगढका अध्यक्ष मोहन सापकोटाले बताउनुभएको छ । हेटौंडा सामुदायिक अस्पातालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्राविधिक सेवा प्रदान गरेका थिए ।
शिविरबाट अतिगरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुगेको आयोजकको भनाइ छ । शिविरमा निजगढ नगरपालिका–६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना लगायत स्थानीयहरुको समेत उपस्तिथि रहेको थियो ।


















