कृष्णउदास खनाल

गोरखा (अजिरकोट),नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा भएको जनयुद्धका क्रममा मारिएका र बेपत्ता भएका गोरखा २ का शहिद तथा बेपत्ता परिवारका सदस्यहरुले आफूहरुको आफन्तको बिषयमा स्पष्ट नीति बनाउन माग गरेका छन् ।

मंसिर ४ गते हुने संसदीय चुनावमा काँग्रेसको समेत समर्थनमा प्रचण्ड गोरखा २ को उम्मेदवार भएपछि यहाँका बेपत्ता परिवारका सदस्यहरुले भने आफूहरुको अभिभावक तथा मान्छेहरुको अवस्था सार्वजनिक गर्न माग गरेका हुन् । राजनीतिक स्वार्थका कारण आफ्नो मान्छे बेपत्ता पारिएको बिसौं वर्षसम्म पनि अवस्था सार्वजनिक नहुनु आपत्तिको कुरा भएको २०५८ साल मंसिर १६ गते घरबाट नै पक्राउ गरी भच्चेकस्थित महेन्द्र बक्स गणको सेनाको ब्यारेकबाट बेपत्ता हुनु भएका चन्द्रप्रसाद खनालकी पत्नी पित्तकुमारी खनालले बताउनुभयो । उहाँले आफूले प्रचण्ड भेट गर्ने चाहना पूरा नभए पनि आफ्नो मान्छेको अवस्था सार्वजनिक गर्नु भोटको पहिलो सर्त हुने बताउनुभयो ।

यस्तै, गोरखा अजिरकोटकै बेपत्ता परिवारका सदस्य माधव अधिकारीकी धर्मपत्नी साबित्री अधिकारीले पनि आफ्ना पतिको अवस्था सार्वजनिक प्रचण्डका लागि भोटको सर्त भएको बताउनुभयो । उहाँका पतिलाई पनि सोही समयमा सोही सेनाले कथित माओवादीको आरोवमा पक्राउ गरी सैनिक हिराशतबाट नै बेपत्ता बनाएको थियो ।

गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ बाट मात्रै शाही सेनाले माओवादीको आरोपमा २०५८ सालमा चन्द्रप्रसाद खनाल, माधव अधिकारी, भरत अधिकारी र बुद्धीबल बिकलाई नियन्त्रणमा लिएर बेपत्ता बनाएको थियो । गोरखा २ बाट मात्रै एक सयको हाराहारीमा नागरिकहरु बेपत्ता पारिएको छ । आफ्ना मान्छेहरु बेपत्ता बनाउनेहरु अहिले पनि सेनामा जागिरे रहेकाले उनीहरुलाई तत्काल बर्खास्त गरी कानुन अनुसार कारबाही गरी पीडित परिवारलाई भरणपोषणको ब्यवस्था गर्न समेत शहिद तथा बेपत्ता परिवारले प्रचण्डसंग माग गरेका छन् ।

माओवादीकै राम्रो अवस्था रहेको गोरखा २ मा काँग्रेसको समेत समर्थन रहेपछि प्रचण्डको जीत भने गोरखा २ मा जीत सुनिश्चित जस्तै छ । बिस्तृत शान्ति संझौता हुँदा सशस्त्र संघर्षका क्रममा बेपत्ता पारिएकाहरुको अवस्था ६ महिनाभित्र सार्वजनिक गर्ने कुरा उल्लेख भए पनि हालसम्म उनीहरुको अवस्था सार्वजनिक नहुनुमा प्रचण्डको पनि दोष रहेको यहाँका बेपत्ता परिवारका सदस्यहरुले बताएका छन् ।

Leave a Reply