काठमाण्डौ – सत्ता गठबन्धनका पाँच दलबीच मङ्गलवार सात बुँदे सहमति भएको छ । यसअघि चार दलबीच भएको आठ बुँदे सहमतिलाई परिमार्जन गरी नेकपा (एकीकृत समाजवादी) लाई समेटेर सात बुँदे सहमति भएको हो ।सत्ता गठबन्धनको सहमति पत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि हस्ताक्षर गर्नुभएको छ ।

पाँच दलबीच भएको आजको सहमतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ ।यसअघि चार दलबीच भएको सहमतिअनुसार राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । तर आजको नयाँ सहमति पत्रमा राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने वाक्य हटेको छ ।

प्रचण्ड नेतृत्वको पुनर्गठित सरकारलाई सुदृढ गर्ने, अन्य दलहरूसँग संवाद अघि बढाउने, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र यससँग सम्बन्धित अरू विषयलाई सहमतिका आधारमा छिटै टुङ्याउने, सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने, वर्तमान आर्थिक समस्यालाई सम्बोधन गर्ने र राजनीतिक स्थायित्वको दिशामा अघि बढ्ने सहमति भएको हो ।गएको फागुन २१ गते एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो । नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजवादी पनि समावेश भएको छ ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच निरन्तर छलफल हुँदै आएको छ । यसैअनुसार आज बिहान पनि उहाँहरूबीच बालुवाटारमा विभिन्न विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार गठबन्धनमा आबद्ध दलहरूबीच राष्ट्रिय विषयमा समान धारणा बनाएर जाने विषयमा प्रधानमन्त्रीले अध्यक्ष ओली र अध्यक्ष नेपालसँग छलफल गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here